सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने

२०८२ साउन १६, ०३:०९ खबर संवाददाता

काठमाण्डौः नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने बताएको छ। ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागिता रहने छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउँनेछ।

प्रतियोगिताको खेल तालिका भने केही समयमै घोषणा गरिने आइसिसीले बताएको छ। बंगलादेश र आयरल्याण्डले २०२४ मा आइसिसी महिला विश्वकपमा सहभागिता जनाएका कारण छनोटमा स्वतः स्थान बनाएका छन्।

एसिया छनोटबाट थाइल्याण्ड र नेपाल, अमेरिका क्षेत्रिय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका थिए। बाँकी ५ स्थानहरूमा अफ्रिका र युरोपबाट समान २ र पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटबाट १ टोलीले स्थान बनाउँने छन्।

नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो। यसैबीच, इङ्गल्याण्ड र वेल्समा हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ को तालिका पहिले नै जारी भइसकेको छ।

विश्व कप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ। २४ दिनमा ३३ खेल ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्ड सहित ७ वटा मैदानमा हुनेछ। 
नेपाली महिला क्रिकेट टिममा सुदूपश्चिमबाट कबिता कुँवर, रितु कनौजिया, रेवती धामी, बिन्दु रावल लगायतका उदयीमान खेलाडीहरुले प्रतिनिधित्व गर्दछन्। 
 

कमेन्ट लोड गर्नुस