कलमको कथा
धनगढी: मलाई आज पनि त्यो दिनहरू याद आउँछ, जब एउटा कलम गुम्नु सारा संसार गुमेजस्तो लाग्थ्यो। सायद त्यो कलम गुम्नु केवल एउटा भौतिक वस्तुको क्षति थिएन— त्यो थियो बाल्यकालको एउटा भावना, जसले मलाई समयसँगै डोर्याइरह्यो।
पहिलो कलम बुवाले झुलाघाटबाट किनेर ल्याउनु भएको थियो—१० रुपैयाँ पर्ने अजन्ता फाउन्टेन पेन। सानो नीलो डिब्बामा राखेर बुवाले हातमा थमाइदिनु भएको त्यो क्षण अझै मेरो स्मृतिमा ताजै छ। कक्षा ४ मा पढ्ने म, त्यो कलम पाउँदा आफूलाई एकदमै ठूलो मानिस सम्झिन्थेँ। नयाँ किताबमा पहिलो अक्षर लेख्दा जस्तो अनुभव, सायद त्यो कलमले जीवनमा पहिलोपटक दिएको थियो।
तर त्यो सुख धेरै टिक्न सकेन। स्कूलबाट फर्किंदा, त्यो कलम झोलामा थिएन। घर पुग्नेबित्तिकै म कता कता पागलजस्तो हुन थालेँ। पुराना बाकस, झोला, किताबका थान्का पल्टाएँ। भकारीको मुन्तिरसम्म हेरेँ। भित्र कतै परेर होला कि भनेर लुगाफाटाका थुप्रो पनि खोजेँ। तर त्यो कलम, कता हरायो, अहिलेसम्म थाहा छैन। खैरो रङको त्यो सानो साथी मेरो बाल्यकालको अमूल्य हिस्सा भएर गुमेको थियो।
त्यसपछि वर्षहरू बिते। कक्षा ७ मा पुगेको थिएँ। दाजुले मलाई नयाँ कलम उपहार दिनुभयो। त्यो कलम डिलेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच एकदमै लोकप्रिय थियो—फाली आकारको निब भएको, हल्का र छिटो लेख्ने। म उसैको भरोसामा परिक्षामा टिकिएको, गृहकार्य पुरा गरिएको, अनि शिक्षकको नजरमा प्रिय बन्ने प्रयास गरिएको।
तर एकदिन त्यो पनि हरायो। झोलाबाट कता हरायो—थाहा नै भएन। कसैले चोरेको थियो कि, आफै कतै छुट्यो—कुनै जवाफ थिएन। तर त्यो कलमको मोहले भने मलाई कक्षा १२ सम्म पछ्याइरह्यो। जहाँसम्म लेखेँ, त्यो कलमको अनुभूति लिएर लेखेँ। नयाँ कलम आए, तर त्यो “हराएको कलम” जस्तो आत्मीय लागेन।
आज पनि जब म कलम समाउँछु, ती दुई हराएका कलमहरू मेरो हृदयमा एकचोटि झल्झली आइपुग्छन्। कहिलेकाहीँ लाग्छ—हाम्रा जीवनका केही चीजहरू गुम्नैपर्छ, ताकि तिनीहरूको याद हाम्रो भित्री संसारमा अमर बनोस्।
कलम त गुमे तर सम्झना अमिट भयो।