कैलाली–कञ्चनपुरका राना बस्तीमा होरी नाचको रौनक

धनगढी: रानाथारू समुदायमा होरी नाचको रौनक छाएको छ।
कैलाली–कञ्चनपुरमा बसोबास रहेको राना समुदायमा गाउँ गाउँमा होरी नाच देखाउँदै होरी मनाइरहेका छन्। होली पर्वको होलिका दहनपछि प्रत्येक गाउँवासीले आ–आफ्नो गाउँका भलमनसा, पध्ना, चाकर लगायतको घरमा अपराह्नतिर होरी नाचेर रमाउने चलन रहेको छ।
होरीको समापन नहुञ्जेलसम्म हरेक दिन होरी नृत्य हुने गरेको छ। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भलमनसा भज्जी रानाले रानाथारू समुदायमा होरी पर्व एक महिना आठ दिनसम्म मनाइने बताए। त्यस क्रममा एक महिनासम्म जिन्दा होरी र होलिका दहनपछि मरी होरी गरेर दुई प्रकारले होरी पर्व मनाइन्छ।


जिन्दा होरीमा राति र मरी होरीमा मौलिक भेषभूषामा सजेर अपराह्नदेखि साँझसम्म होरी नाच देखाउने चलन रहेको छ। मरी होरीको आठौं दिनमा खख्डेहरा फुटाएर पुरुषले होरी समापन गर्ने गरेका छन।

होरी नाच ढोलको तालमा महिला-पुरुषले तालमा ताल मिलाएर नाच्ने एक प्रकारको मौलिक नृत्य हो। यो नाच बुढापाकादेखि लिएर अधबैँसे, तन्नेरी, जवान, बालबालिका मिलेर सामूहिक रूपमा नाच्ने गरेको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले बताइन्। होरी नाचको रौनकले अहिले रानाथारू बस्ती होरीमय बनेको छ। वृद्धवृद्धादेखि बालबालिकासम्म यो नाचमा रमाइरहेका छन्। रानाथारु होरी माघ पूर्णिमादेखि सुरु हुने गरेको भलमनसा रानाले बताए।

फागुन पूर्णिमापछि आठ दिनसम्म मरी होरीमा रमाएर होरी पर्व समापन गर्ने गरेको उनले बताए।