धनगढी उप–महानगरपालिकाद्वारा ९ दिनको म्याद राखेर असारमा योजना सम्झौता
धनगढी उप–महानगरपालिका बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा आएर उपभोत्ता समितीसंग धमाधम सम्झौता गर्न थालेको छ। आर्थिक वर्षका १० दिन मात्र बाँकी रहेका बेला पनि योजना कार्यन्वयनका लागि धमाधम सम्झौता भईरहेको छ। जेठपछि योजना नै कार्यान्वयन नगर्ने दावी गर्दै आएको उप–महानगरपालिकाले असार सकिन लाग्दा पनि योजना सम्झौता गर्न नछोडेको हो। असार महिनाको २१ दिनमा मात्र झण्डै ७० लाख बरावरका १२ योजनको उपभोत्ता समिति संग सम्झौता गरिएको छ।
योजान कार्यान्वयनको गर्नको लागि एक महिनाको समयावधी समेत नराखी सम्झौता गरेको पाईएको छ। विद्यालय भवन निर्माण गर्नको लागि ९ दिन र सडक कालोपत्रे गर्नको लागि १२ दिन समय राखेर सम्झौता गरिएको छ। यसै महिना सम्झौता गरेका योजनाको समयावधी सकिएको भएपनि काम भने अधिकासं स्थानमा सुरु भएको छैन्। वडा नम्बर १४ मा रहेको सर्वोदय मावीको भवन निर्माणको लागि ९ दिनको समय राख्दै सम्झौता गरिएको छ।
यस्तै वडा नम्बर २ को एसपिए कलेजदेखि भागेश्वर सडक कालोपत्रे, वडा नम्बर ६ को आम्दाघाट सिँचाई बाध निर्माण, वडा नम्बर ८ को व्याडमिन्टन कोट पिच गर्ने, वडा नम्बर १९ मा बोरिङ गाड्ने, वडा नम्बर १८ मा स्नान गृह मोटर कोठा निर्माण, वडा नम्बर १९ कै फुटी गाउँमा बोरिङ जडान, वडा नम्बर ९ मा चौतारो निर्माण, हनुमान मन्दीरमा पक्की नाली निर्माण, वडा नम्बर ५ मा मानव अधिकार एकल महिला समूहको पर्खाल निर्माण र वडा नम्बर १ को ह्युमपाईप नाली निर्माण तथा सडक कालोपत्रे गर्नको लागि उपभोत्ता समिती संग असारमा आएर सम्झौता गरिएको उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले बताए। प्रत्येक वर्ष दोहोरिने यो समस्या समाधान हुन नसक्दा कार्य सम्पादनमा चुनौती थपिदै गएको उप–महानगरपालिकाका ईन्जिनियर भट्टले स्विकार गरे।