संसदमा मुख्यमन्त्रीको सम्बोधन : बजेट राम्रो भएका कारण आलोचना
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट राम्रो भएकै कारण आलोचना भएको दावी गरेका छन्। प्रदेश सरकारले बजेट ल्याएको २२ दिन पछि आईतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री भट्टले बजेट राम्रो भएकै कारण आलोचना भएको जिकिर गरेका हुन्। मुख्यमन्त्री भट्टले सरकारले गत वर्षको भन्दा अगामी आर्थिक वर्षको बजेट फरक र ठोस रुपमा ल्याएको उल्लेख गरे।
‘गत वर्षको बजेटमा केही अपठ्याराहरु थिए, केही व्यवस्थित हुन नसकेको हुनसक्छ तर त्यो भन्दा यो वर्षको बजेट व्यवस्थित छ, राम्रो तरिकाले ल्याएकाछौँ ।’ मुख्यमन्त्रीले भने, ‘यो बजेट व्यवस्थित, अली राम्रो र यसको स्पीड राम्रो भएको कारणले नै यो माथि आलोचना भयो त्यो पनि हामीले बुझेका छौँ।’मुख्यमन्त्रीले बजेट राम्रो भएकै कारण व्यापक रुपमा चिया पसल, चोक चोकमा अनौपचारिक छलफल भएको टिप्पणी गरेका छन्।
तर बजेटमा केही मन्त्रीले एकलौटी गरेकाले समान रुपमा वितरणको माग गर्दै नेकपाकै २५ जना बहुमत सांसदले संयुक्त हस्ताक्षर उनलाई बुझाएका थिए भने प्रतिपक्षी दलले अवरोध सिर्जना गरेपछि विगत २१ दिन सम्म प्रदेशसभा बैठक चल्न सकेको थिएन । प्रदेशसभामा पौने घण्टा बढि बोलेका मुख्यमन्त्री भट्टले अधिकांश समय सरकारका काम कारवाहीको विषयमा हुदै आएका आलोचनामा खर्चिएका थिए।
तर बजेटको विरोध गर्दै पटक पटक संसदमा अवरोध सिर्जना गरेको प्रतिपक्षी दलसंग कस्तो खालको सहमती भयो भन्ने कुरा सम्बोधनका क्रममा खुलाएनन् । मुख्यमन्त्री भट्टले प्रतिपक्षीसंगको पटक–पटकका छलफल, सल्लाह र वार्तामा सदनलाई सुचारु गरी बजेटमाथी छलफल गर्ने एवं प्रतिपक्षीलाई साथमा लिएर अगाडी बढुने समझदारी भएको सभामा उल्लेख गरेका थिए।
मिलाउने र मिल्ने कुरामा सरकार सकारात्मक रहेको भनाई पनि उनको थियो। भट्टले प्रदेशमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले पटक पटक निर्णय गरी संघिय सरकारलाई पठाएको र थप योजना प्रदेशबाटै सञ्चालन गर्न संघिय सरकारसंग समन्वय गर्न सरकार तयार रहेको जनाए।
उनले धेरैले ध्वंसात्मक रुपमा प्रदेश सरकारले केही पनि गरेको छैन्, केही पनि भएको छैन्, केही गर्ने क्षमता नै राख्दैन्, कानून बनाउने र बजेट बनाउने क्षमता राखेको छैन् भन्ने कुरा आउने गरेको समेत सुनाए । तर ती कुराहरु गलत भएको भट्टको दावी थियो । त्यस्ता खालका अभिव्यक्ति व्यवस्थामाथीको आलोचना भएको बताउँदै उनले आफूहरु नयाँ काम गरिरहेकाले त्यस क्रममा केही कमजोरी हुने कुरा स्वभाविक भएको बताए ।