वेदकोटमा १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने
धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकामा १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजना हुने भएको छ।
आइतवार शुक्लाफाँटा नगरपालिकामा सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेदकोट नगरपालिकाले आगामी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको हो। वेदकोट नगरपालिकाले प्रतियोगिता आयोजना गर्ने घोषणा गरेपछि नगर प्रमुख भोजराज बोहरालाई झण्डा हस्तान्तरण गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले बताए।
’खेलकुद विकास समितिमा हामीले नेतृत्व गरेपछि जिल्ला स्तरीय प्रतियोगिता पालिकाहरूमा गर्ने निर्णय गरेका थियो। यसअन्तर्गत पहिलो पटक बेलौरी नगरपालिकामा आयोजना गरेका थियो। त्यसपछि क्रमशः कृष्णपुर र शुक्लाफाँटामा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेका छौ,' उनले भने, 'अब बेदकोटले जिम्मेवारी लिएको छ।'
नगर प्रमुख भोजराज बोहराले खेलकुद क्षेत्रको विकासका लागि वेदकोट नगरपालिका प्रतिबद्ध रहेको बताए। ’राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाका खेलाडीलाई राम्रो प्लेटफर्म प्रदान गर्ने भएकाले हामीले आगामी संस्करण आयोजना गर्ने निर्णय गरेका हौं,' उनले भने, ’नगरपालिकाले आवश्यक पूर्वाधार र व्यवस्थापनका लागि पूरा सहयोग गर्नेछ।'