सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा फुटबल: उपाधिमाथि दुवै टोलीको दाबी

२०८१ फाल्गुन १४, ०७:१० खबर संवाददाता

धनगढी: सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले दावी गरेका छन्।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि भिडन्त अघि ट्रफी सार्वजनिक कार्यक्रममा दुबै टोलीले उपाधि जित्ने दावी गरेका हुन्।

पहिलो सेमिफाईनलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १–० ले हराउँदै फाईनल पुगेको हो भने लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब पनि बागमति प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाईनल पुगेको हो। ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका कप्तान कुवेर सिंहले आफ्नो टोलीले उपाधि जित्ने बताए।

कप्तान सिंहले भने, ‘हाम्रो प्रदेशको प्रतिनिधित्व गरेका कारण पनि घरेलु दर्शकहरुको साथ रहनेछ। हाम्रो टीममा अनुभवीदेखि युवा खेलाडीहरुको समिश्रण भएका कारण पनि हाम्रो टीमले उपाधि जित्नेमा ढुक्क छु।’ लुम्बीनी प्रदेशका कप्तान विनोद केवतले पनि आफ्नो टीमले उपाधि जित्ने दावी गरे। कप्तान केवतले भने– ‘हामी यो मैदानसँग अभ्यस्त छौं। धेरै खेलाडीहरुले यो मैदानमा खेलिसकेका भएकोले पनि हामी उपाधि जित्नेमा पक्का छौं।’

सुदुरपश्चिम र लुम्बीनी प्रदेशबीचको फाईनल खेल फागुन १४ गते आज महाशिवरात्रीका दिन हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगदसहित ट्रफी मेडल पाउनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ।

प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहेको थियो। समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो। 

कमेन्ट लोड गर्नुस