सुदूरपश्चिममा ‘मेगा फुड पार्क’ बनाउने योजना बजेट भाषणमै सिमित
धनगढीः सुदूरपश्चिममा मेगा फुड पार्क बनाउने संघीय सरकारको योजना बजेट भाषणमा सिमित बन्न पुगेको छ।
चालु आर्थिक वर्ष सुरु भएको ६ महिना वितिसक्दा पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन। प्रदेशभित्र मेगा फुड पार्क बनाउन संघीय सरकारले यो विषयलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो। संघीय सरकारले मेगा फुडपार्कदेखि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढीमा क्रिकेट रङ्गशाला निर्माणलगायतका योजना नीति तथा कार्यक्रममा समेटेको छ।
तर देखिने गरी काम भने भएको छैन। सुदूरपश्चिममा मेगा फुडपार्क बनाउने योजना नीति तथा कार्यक्रममा मात्र सिमित बन्न पुगेको छ। विगतका वर्षहरूमा सुदूरपश्चिममा मोनोरेल, मेगा सिटी बनाउने लगायतका कार्यक्रम समावेश हुने गरेको थियो। गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३ सय बेड क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने नीतिगत व्यवस्था गरेको संघीय सरकारले अहिलेसम्म काम गर्न सकेको छैन।
देशकै ड्रिम मेगा प्रोजेक्टको रुपमा रहेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ। सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला तथा खेलग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ जारी गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो। तर प्रभावकारी रुपमा अझै काम हुन सकेको छैन। यस्तै कैलालीमा हरैया विशेष आर्थिक क्षेत्र, दुधेझारी उद्योगिक क्षेत्र, कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्र बनाउने योजना पनि कागजमै सीमित बन्न पुगेका छन्।