सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानलाई हरियो पत्तीको मूल्य दिन नसकेको भन्दै इलामका ५२ चिया कारखाना बन्द

। फोटो स्रोत ।
२०७६ असार १४, ०७:२८

इलामका ५२ चिया कारखाना बन्द भएका छन्। सरकारले तोकेको मूल्य किसानलाई दिँदा घाटामा जाने भएको भन्दै इलामका ५२ ओटा चिया कारखाना बन्द भएका हुन्। सूर्योदय नगरपालिकाका किसानलाई हरियो पत्तीको मूल्य दिन नसकेको भन्दै  नगरपालिकाका उद्योगीले बिहीबारदेखि चिया कारखाना बन्द गरेका हुन्। 

नगरपालिकाले गएको वर्ष हरियो चियापत्तीको मूल्य निर्धारण गर्दै, गुणस्तर मापदण्ड कार्यान्वयन कार्य्विधिसमेत पारित गरेको थियो। कार्य्विधिअनुसार, हरियो चियापत्तीको मूल्य किसानलाई न्यूनतम प्रतिकिलो ४० रुपैयाँ दिनु पर्ने व्यवस्था छ। किसानले भने, उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात १ सुइरोको हुनु पर्ने उल्लेख छ। यो कार्यविधि नगरपालिकाले चिया उद्योगी र किसान समेतको सहभागितामा पारित गरेको हो। पारित भएको कार्य्विधिमा गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले गर्ने व्यवस्था  छ।

तर नगरपालिकाले अनुगमन नगरेको, किसानबाट कार्यपत्रमा तोकिएको मापदण्ड अनुसारको चियाको पत्ती उद्योगमा नआएको, र ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्ने जस्ता कारणले गर्दा उद्योग बन्द गर्नुको अर्को विकल्प नभएको एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए।
उनले भने, ‘गएको वर्ष किसानलाई कार्यविधिमा तोकिएकै मूल्य दिइएको थियो। गुणस्तरहीन चियाको पत्ती किसानबाट आइरहेको छ। यसको अनुगमन गरी गुणस्तर कायम गर्न खबरदारी गरी दिन नगरपालिकालाई आग्रह गरे पनि यसमा चासो दिएको छैन।’ उद्योगमा गुणस्तरहीन हरियोपत्ती आउँदा तयारी चियामा गुणस्तर कायम नहुने र थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको एसोसियशनको भनाइ छ। 

कम गुणस्तरको चियाको मूल्य पनि कम नै भएकाले निर्धारण गरिएको मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएकाले बन्द गर्न बाध्य भएको सचिव कट्टेलले जानकारी दिए। किसानले पाउने न्यूनतम मूल्य कायम नै राख्ने अडान लिँदै आएको छ। चिया उत्पादकहरूको संस्था नेपाल टि एसोसिएशनले कारखाना खुल्ने वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ। एसोसिएशनले उद्योग नै बन्द गरेपछि नगरपालिकाले उद्योगीलाई छलफलका लागि आउँदो शनिबार  बोलाएको छ। छलफलपछि उद्योग खोल्ने कि बन्द जारी नै राख्ने भन्ने विषयमा निर्णय गरिने एसोसिएशनले जनाएको छ। 

सूर्योदय नगरपालिकामा रहेका ६२ भन्दा बढी चिया प्रशोधन उद्योगमध्ये एसोसिएशनमा ५२ वटा उद्योग आबद्ध छन्। करिब तीन हजार किसानका बगानको हरियो चियापत्ती यी उद्योगमा प्रशोधनका लागि पुग्ने गर्दछ। यहाँ प्रशोधित अग्र्या्निक अर्थोडक्स चिया  भारत र तेस्रो मुलुकसम्म पुग्छ। केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् भने कुल ११ हजार ४१ वटा बगानहरुमा चिया खेती रहेको पाइएको छ। जस मध्ये इलाममा मात्रै ६ हजार ९ सय ९५ बगान रहेका छन्।

कमेन्ट लोड गर्नुस