धनगढी-१८ मा मोहना नदीले बगायो २५० बिघा, छैन तटबन्धको योजना
धनगढीः धनगढी-१८ नुक्लिपुरमा मोहना नदीले अहिलेसम्म २५० बिघा जग्गा कटान गरेको छ।
सीमावर्ती क्षेत्रमा पञ्चायत कालमै बसाइएको बस्ती अहिलेसम्म तीन पटक सारिएको छ। मोहना नदीका कारण यसअघि तीन पटक सारिएको मोहना किनारको भूपू सैनिक बस्ती चौथो पटक समेत कटानको उच्च जोखिममा छ। मोहना नदीले २०६० सालमा सबैभन्दा बढी जग्गा कटान गरेको थियो। यो वर्षको साउन—भदौमा आएको बाढीले नदीको धार नेपालतर्फ फर्किँदा नुक्लिपुर र मोहना बस्ती तथा वडा नम्बर १९ को साँझघारी बस्ती फेरि विस्थापति हुने जोखिम बढेको हो।
तीन पटक सारियो बस्ती, जोखिम भने कायमै
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को सीमावर्ती क्षेत्रमा बसाइएको भूपू सैनिक बस्ती मोहना नदीका कारण अहिलेसम्म तीन पटक सार्नु परेको स्थानीयले बताएका छन्। पञ्चायत कालमा सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले भूपू सैनिकहरूलाई बिर्तामा दिएको २५० बिघा जग्गा अहिले मोहना नदीले बगरमा परिणत गरेको छ। भूपू सैनिक बस्तीका २२ परिवार तीन पटकसम्म विस्थापित भएर अहिले नुक्लिपुरमा बस्दै आएका छन्।
तीन पटकसम्म आएको बाढीले भूपू सैनिक बस्तीका महेशकुमार सुनारको डेढ बिघा जग्गा सहितको सयौ बिघामा अहिले मोहना नदीको बगरमा परिणत भएको छ। तीनै तहको सरकारले नदी नियन्त्रणका लागि बलियो तटबन्ध निर्माण गरेर चौथो पटक बस्ती विस्थापित हुनबाट जोगाउनुपर्ने डेढ बिघा जग्गा गुमाएका महेशकुमार सुनारले बताए। उनले तीनै तहको सरकारले नदी नियन्त्रणमा ध्यान दिनुपर्ने बताए।
‘सरकारले भूपू सैनिकहरूलाई बिर्तामा दिएको जग्गा अहिले बगरमा परिणत भएको छ। मान्छेहरूको खनेर खोस्रेर खाने आधार गुमेको छ,’ उनले भने, ‘अहिले पनि नदीले बाँकी रहेको जग्गा र बस्ती बगाउने जोखिम छ। तीनै तहको सरकारले बलियो तटबन्ध निर्माण गर्न म बिनम्र अनुरोध गर्दछु।’
मोहनाले धार परिवर्तन गर्दा जोखिम बढ्यो
भूपू सैनिक बस्ती २०६० सालमा मोहनाको चपेटामा परेपछि तेस्रो पटक नुक्लिपुरमा सरेको हो। यो वर्ष आएको बाढीले बस्तीको सम्पूर्ण उर्वरभूमि बगरमा परिणत भएको छ। यसअघि भारततर्फ बग्ने मोहना नदीले गत साउनमा धार परिवर्तन गरेर नुक्लिपुरतर्फ सोझिएको छ। जसले गर्दा नुक्लिपुरमा बसेको भूपू सैनिक बस्ती चौथो पटक विस्थापित हुने जोखिम बढेको वडा अध्यक्ष भुवन रिजालले बताए। उनले नुक्लिपुरसहित वडा अन्य बस्तीमा समेत कटान डुबानको खतरा बढेको बताए। वडा अध्यक्ष रिजालले धनगढी उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गर्न पहल भइरहेको बताए।
प्रदेश र संघले बजेट नै हालेनन्
धनगढी उपमहानगरपालिका क्षेत्रमा सबैभन्दा बढी कटान र डुबानको समस्या हुने गरेको नुक्लिपुरका बासिन्दाले तीनै तहको सरकारले नदी कटान रोक्न काम गर्नुपर्ने माग गरेका छन्। ठुलो नदीमा सामान्य तटबन्धले मात्रै काम नगर्ने भएकाले स्थानीयले जनताको तटबन्धले नदी नियन्त्रणको काम गर्नुपर्ने बताएका छन्। तर, स्थानीय, प्रदेश र संघीय सरकारले वडा नम्बर १८ मा मोहनाको कटान रोक्न योजना हालेका छैनन्।
वडा अध्यक्ष भुवन रिजालले प्रदेश र संघीय सरकारसँग योजना माग्न पहल भइरहेको बताए पनि तटबन्धका लागि बजेटको जोहो भएको छैन्। संघीय सांसद डिल्लीराज पन्तले वडा नम्बर १४ को खुटियाका लागि एक करोड तथा वडा नम्बर १९ दक्षिण लल्लीपुरका लागि ३५ लाख बजेट हालेको बताए पनि वडा नम्बर १८ मा भने कुनै बजेट हाल्न नसकेको बताए।
उनले सरकारसँग पाँच करोड बजेट माग गरेको भए पनि यो वर्ष भने वडा नम्बर १४ मा एक करोड तथा १९ नम्बरका लागि ३५ लाख बजेट संघीय सरकारले हालेको बताएका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ३, ९, १०, १२, १५, १७, १४, १८ र १९ मा नदी कटान र डुबानको समस्या छ। खुटिया र मोहना नदीले हरेक वर्ष खेतीयोग्य जमिन बगरमा परिणत गर्दै आएको छ।