सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा पुग्दा दिन्छन् मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मैले मेडिकल शिक्षा पढाउने गफ

२०८१ मंसिर ११, ०१:०६ खबर संवाददाता

धनगढीः यही मंसिर २ गते नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गेटा अस्पतालको अवलोकन गरे।

अस्पताल अवलोकनका क्रममा बोल्दै देउवाले अहिले के बनाउने भन्ने बारेमा कन्फ्युजन भएको बताए। ‘प्रतिष्ठान बनाउने की, विश्वविद्यालय बनाउने कन्फ्युजन छ’ उनले भने, ‘यसको निकास निकालेर मेन कुरा पढाइ सुचारु हुनुपर्‍यो।’ उनले ३ सय शय्याको अस्पताल भए पनि ठुलै कुरा भएको प्रतिक्रियासमेत दिए।

देउवा पत्नी एवं परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले पनि गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउने दाबी गरिन्। उनले गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा छलफल भइरहेकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने बताइएकी थिइन। उनले भनेकी थिइन, ‘यसमा सबै सकारात्मक छन्, चाँडै गति लिन्छ।’

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गेटामा बनेको मेडिकल कलेजको नयाँ भवनको अवलोकन गर्दै भनेका थिए, ‘सुदूरपश्चिमलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपहार सरकारले दिएको छ।’ तर उनले घोषणा गरेको केही दिनपछि सार्वजनिक गरिएको संघीय सरकारको नीति तथा कार्यक्रममा ‘गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय स्थापना गरिनेछ’ भनियो।

तर, तत्कालिन अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको बजेट भाषणमा एक सय शय्याको प्रतिष्ठान बनाउने घोषणा गरियो। बजेट भाषणबाट विश्वविद्यालयलाई प्रतिष्ठान बनाउन खोजिएको भन्दै लगत्तै चर्को विरोध पनि सुरू भयो। सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको माग आजभन्दा ३० वर्ष अघिदेखिको हो।

२०५१ सालमा सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने घोषणा गरिएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो पालामा दैजीबाट सारेर पुनर्वास क्षेत्रमा मेडिकल कलेजको शिलान्यास गरेका थिए। २०६६ मा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज निर्माण गर्ने भनेर बजेट विनियोजन गरेको थियो।

यद्यपि, लामो समय निर्णयमा मात्र सीमित बन्न पुग्यो। वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा २०७३ पछि मात्रै पूर्वाधार निर्माणले गति लियो। हालसम्म सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज, विश्वविद्यालय, प्रतिष्ठान छैनन्। त्यसका लागि लामो समयदेखि आन्दोलन चल्दै आएको छ।

एमाले नेता एवं पूर्व सांसद् डाक्टर दीपकप्रकाश भट्टले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विकल्प नरहेको बताउँदै आएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन हुँदा पनि सरकारी तबरबाट मेडिकल शिक्षा अध्यापन सुरु हुन सकेको छैन। गेटामा ६ सय शय्यासम्म सञ्चालन गर्न सकिने संरचना दुई वर्षअघि नै निर्माण गरिसकिएको छ।

अस्पतालले ३ सय शय्यासम्मको अनुमति मागे पनि सरकारले भने ५० शय्याको अस्पतालमात्रै सञ्चालनको स्वीकृति दिएको छ। संघीय सरकारले २०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति दिएको हो। चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था छ। अस्पतालका तत्कालीन निर्देशन डाक्टर प्रमोद जोशीले २०८० कार्तिक १ देखि ओपीडी सेवा सुरु गरेका थिए। सो अस्पतालमा एक सय ४१ जनाको अस्थायी दरबन्दी छ।

सरकारले गेटालाई विगतमा मेडिकल कलेज वा प्रतिष्ठान बनाउने भन्दै आएको थियो। २०७९ माघ २९ मा मन्त्रिपरिषद्को बैठकबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गेटाको विधेयक राष्ट्रिय सभाबाट २०८० माघ २९ मा सर्वसम्मत रूपमा पारित गरिसकिएको छ। हाल प्रतिनिधिसभामा रहेको उक्त विधेयक चाँडो पारित भएर कार्यान्वयन प्रक्रियामा जाओस् भन्ने सुदूरपश्चिमको साझा माग छ।

गेटामा झण्डै ६ अर्ब रुपैयाँ खर्चेर भौतिक संरचना निर्माण गरिसकिएको छ। तर चिकित्सा शिक्षाको पठाइ सुरु नहुँदा ती संरचना उपयोगविहिनको अवस्थामा पुगेका छन्। संघीय मन्त्रीदेखि पुर्वप्रधानमन्त्रीसम्मै गेटा अवलोकन गर्न पुगिसकेका छन्। अवलोकनका क्रममा छिट्टै सञ्चालनमा आउने दाबी गर्ने तर संघीय राजधानी पुगेपछि बेवास्ता गर्ने बानी सांसद, मन्त्री र प्रधानमन्त्रीमै परेको छ।

कमेन्ट लोड गर्नुस