सुदूरपश्चिममा माछापालन गर्ने किसानको संख्या पाँच हजार ३८० पुग्यो
धनगढीः सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ।
मत्स्य विकास केन्द्र गेटाका अनुसार कैलालीमा १९४ र कञ्चनपुरमा ४८ वटा गरी २४२ वटा प्राकृतिक ताल छन्। सुदूरपश्चिममा ७ सय २० हेक्टर तालमा व्यावसायिक माछा उत्पादन हुँदै आएको छ। वार्षिक एक हजार ७ सय मेट्रिकटन माछा प्राकृतिक तालबाट उत्पादन हुँदै आएको छ। प्राकृतिक र कृत्रिम गरी कैलाली र कञ्चनपुरमा २ हजार ५४२ वटा ताल र पोखरीमा माछा पालन हुँदै आएको छ।
यी दुई जिल्लामा माछा पालनको क्षेत्रफल एक हजार ३७५ हेक्टर छ। ती ताल तथा पोखरीमा ५ हजार ३८० किसान व्यावसायिक रुपमा माछा पालनमा संलग्न रहेको मत्स्य विकास केन्द्रको तथ्याङ्कमा उल्लेख छ। सुदूरपश्चिममा उत्पादित माछाले स्थानीय बजारको ७५ प्रतिशत माग धानेको छ भने बाँकी २५ प्रतिशत अन्य प्रदेश र भारतबाट समेत आयात हुँदै आएको छ।
प्राकृतिक तालमा माछाको उत्पादकत्व २ दशमलव ३ मेट्रिकटन प्रतिहेक्टर छ। मत्स्य विकास केन्द्र, गेटाका प्रमुख निर्मलबहादुर खातीका अनुसार माछा उत्पादन बढाउन विभिन्न पहल भइरहेका छन्। आगामी १० वर्षमा माछा उत्पादन वार्षिक १० हजार मेट्रिकटनबाट बढाएर ३० हजार मेट्रिकटन पुगाउने लक्ष्य प्रदेश सरकारको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले माछा पालन क्षेत्रमा ५ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कैलालीमा माछा जोन कार्यक्रमसमेत अगाडि बढाएको छ। परियोजना कार्यान्वयन इकाई, धनगढीले चालु आर्थिक वर्षमा धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी र भजनी नगरपालिकामा एक करोड बजेटको माछा जोन कार्यक्रम सञ्चालन गर्न लागेको परियोजना कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले बताए।