बाजुरामा उपाध्यक्ष र दार्चुलामा अध्यक्षका लागि दलहरुले टुङ्ग्याए उम्मेदवार
बाजुराः आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बाजुरामा राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन्।
स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन्। २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएको थियो। उक्त पदका लागि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा समाजवादी पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन्।
नेपाली कांग्रेसले पुल्तीसरा शाही, एमालेले सुलोचना भण्डारी (बुढा), माओवादी केन्द्रले राजु विक, राप्रपाले सुनादेवी थापा (भोटे) र नेकपा समाजवादी पार्टीले जवा शाहीलाई उम्मेद्वार बनाएका हुन्। अघिल्लो निर्वाचनका बेला नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रबिच गठबन्धन बनेको थियो।
उम्मेदवार घरदैलो अभियानमा
राजनीतिक दलले टुङ्गो लगाएका उम्मेदवारहरू जनतासँग भेटघाट तथा चुनावी अभियान लिएर घरदैलो कार्यक्रममा व्यस्त छन्। गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुने रणनीतिसहित दलका उम्मेदवार र नेता कार्यकर्ता मतदातासँग भेटघाटमा निस्किएका हुन्। उम्मेदवारले मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा विकास गर्ने चुनावी प्रतिबद्धता लिएर मत माग्न थालेका छन्।
विरासत फर्काउने दाउमा एमाले
लगातार ३२ वर्षदेखि एकलौटी रुपमा नेतृत्व गर्दै आएको एमाले २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पुनः विरासत फर्काउने उद्देश्यका साथ जुटेको छ। नेकपा विभाजित भएपछि स्वामीकात्तिकमा विरासत गुमाएको एमालेले उपाध्यक्ष पद जित्ने रणनीति बनाएर अघि बढेको नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताए।
२०७४ मा नेपाली कांग्रेसलाई पराजित भएको थियो। २०७९ मा कांग्रेसले जितेको हो। अघिल्लो निर्वाचनमा तीन वडा र अध्यक्ष उपाध्यक्षसहित बहुमत प्राप्त नेपाली कांग्रेस भने उपनिर्वाचनमा उपाध्यक्ष पद जोगाउने कसरतमा छ। उक्त गाउँपालिकामा सात हजार चार सय ६० मतदाता संख्या छन्।
दार्चुलामा दलहरूले टुंग्याए उम्मेदवार
दार्चुलाको दुहँु गाउँपालिका–५ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि प्रमुख तीन दलले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन्। उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका हुन्। दुहँु गाउँपालिका–५ मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि कांग्रेसले धनबहादुर कुँवर, एमालेले मानसिंह बडाल र माओवादी केन्द्रले बिरसिह कार्कीलाई उम्मेदवार बनाएका छन्।
तीनवटै पार्टीले सर्वसम्मत उम्मेदवार छानेका हुन्। केही दिन अघि नै कांग्रेस र एमालेले आ–आफ्नो दलको उम्मेदवार चयन गरेका थिए। माओवादी केन्द्रले भने बुधबार उम्मेदवारको टुंगो लगाएको हो। माओवादीका उम्मेदवार कार्की २०७४ सालको स्थानीय चुनावमा सदस्य पदमा निर्वाचित भएका थिए। एमालेका वडाध्यक्ष पदका उम्मेदवार बडाल भने अघिल्लो २०७९ चुनावमा पराजित उम्मेदवार हुन्।
त्यस्तै, कांग्रेसले भने नयाँ व्यक्तिलाई उम्मेदवार बनाएको छ। २०७९ सालको चुनावमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा माओवादीले अधयक्ष पदमा चुनाव जितेको थियो। २०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका वडाअध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते मृत्यु भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। सो वडामा एक हजार दुई सय ७२ जना मतदाता छन्।