सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पुष्प व्यवसायी किसानको ८० प्रतिशत फूल बिक्री

२०८१ कार्तिक १७, ०३:२० नारायण अवस्थी

धनगढीः धनगढीका पुष्प व्यवसायी किसानले ८० प्रतिशत फूल बिक्री गरेका छन्। पुष्प व्यवसायी किसानले तिहारका लागि उत्पादित शनिवार बिहानसम्म ५५ क्विन्टल फूल र माला बिक्री गरेका हुन्।

धनगढी फूलमा आत्म निर्भर बनेको छ। धनगढीको उत्पादित फूल यो पटक धनगढी भन्दा बाहिर समेत निर्यात भएको छ। उनीहरूले फूल र माला खरिद गरेर कृषि व्यवसायलाई सहयोग गर्न आग्रह गरिएको छ।

किसानको ८० प्रतिशत फूल बिक्री

धनगढी–६ मटियारीकी सुशीला बिष्टले दुई बिघामा लगाएको सयपत्री फूल बिक्री गरिरहेकी छन्। उनले दसैँदेखि सयपत्री फूल बिक्री गर्न थालेकी हुन्। यसैगरी, धनगढी–४ की रिता अवस्थीको ६ कट्ठामा उत्पादित ८५ प्रतिशत फूल बिक्री भएको छ। यस्तै, धनगढी–१३ का पुष्कर बिष्टको ८ कट्‍ठा, धनगढी–८ मोतिचोकका जोगेन्द्र सेटीले ६ कट्‍ठामा उत्पादित फूल मध्ये ८० प्रतिशत फूल तिहारमा बिक्री भएको छ।

धनगढी–१२ का आशा मिश्रले ४ कट्‍ठा तथा कृतिका सिंहले ५ कट्‍ठामा लगाएको फूलमा ८० प्रतिशत बिक्री भएको छ। गत वर्ष भन्दा यो वर्ष फूलको बिक्री राम्रो भएको उनीहरूले बताएका छन। पुष्प व्यवसायी किसानको समूहले उत्पादन गरेको ८० प्रतिशत फूल बिक्री भएको पुष्प व्यवसायी किसान सुशीला बिष्टले बताइन्। ‘हामीले समूह मार्फत फूल बिक्री गरिरहेजा छौँ। उपमहानगरपालिकाले फूल बिक्री केन्द्र सञ्चालन गर्न ठाउँ दिएको छ। यो वर्ष फूलको बिक्री गत वर्षको भन्दा राम्रो भएको छ,’ उनले भनिन्, ‘हामीले धनगढीको ८ ठाउँमा समेत स्टल राखेर फूल बिक्री गरिरहेका छौँ।’ उनीहरूले शनिवार बिहानसम्म ५५ क्विन्टल फूल बिक्री गरेका हुन। एक किलोग्राम फूलको पाँच सय रुपैयाँ र एक मालाको एक सय रुपैयाँमा उनीहरूले फूल बिक्री गर्दै आएका हुन।

यो वर्ष भारतीय र नक्कली फूल माला आयात भएन

धनगढीका किसानहरूले गत वर्ष पनि फूल खेती गरेका थिए। गत वर्ष भारतीय फूलको कारण स्थानीय किसानको फूल बिक्रीमा समस्या भएको थियो। यो पटक भारतीय फूल बजारमा आउन नदिइएकाले स्थानीय उत्पादन बिक्री गर्न सहज भएको धनगढी–७ की किसान रिता अवस्थीले बताइन्। ‘गत वर्ष बिक्रीमा अलि समस्या भएको थियो। यो वर्ष हामीले उत्पादन गरेको फूल सजिलै बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘भारतीय फूल नआउँदा र कृत्रिम फूलको बिक्री वितरणमा प्रतिबन्ध लाग्दा किसानको फूल बिक्री भएको हो।’

खादा र कृत्रिम माला प्रयोग नगर्न आग्रह

धनगढी उपमहानगरपालिकाले गत वर्ष स्थानीय किसानहरूलाई फूल उत्पादन सम्बन्धी तालिम दिएर पुष्प व्यवसाय प्रवर्धन गर्न सुरु गरेको थियो। उपमहानगरले आयातित कृत्रिम फूल तथा मालाको बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ। जसका कारण स्थानीय फूलहरूले सजिलै बजार पाएको हो। खादा र कृत्रिम फूलको प्रयोग बन्द गरेर स्थानीय किसानले उत्पादन गरेको फूल र मालाको प्रयोग गर्नुपर्ने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘स्थानीय किसानलाई प्रोत्साहन गर्न सबैले हरेक कार्यक्रममा धनगढीमै उत्पादित फूल र मालाको प्रयोग गर्नुपर्छ। यसो गर्दा किसान र यहाँको अर्थतन्त्र टेवा पुग्छ।’ नगर प्रमुख हमालले किसानको फूलबारीमा पुगेर बिक्री र उत्पादनको अवस्थाका बारेमा जानकारी समेत लिएका छन।

धनगढी उपमहानगरपालिका फूल उत्पादन आत्मनिर्भर बनेको छ। पुष्प व्यवसायी किसानले वर्षभरि फूल उत्पादन गर्दै आएका छन्। धनगढी उपमहानगरपालिकाले किसानहरूलाई फूल बिक्री गर्न नगरपालिका परिसरमा फूल बिक्री केन्द्र खोल्न ठाउँ दिएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस