सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अस्पताल गेटामा गाभ्ने! मेडिकल शिक्षा पढाउन मुख्यमन्त्रीले दबाब

२०८१ कार्तिक १२, ०१:५४

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको गेटामा तत्काल चिकित्सा शिक्षाको पठनपाठन गराउन संघीय सरकारलाई मुख्यमन्त्री कमलबहादुर शाहले दबाब दिएका छन्।

झण्डै ७ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचना उपयोगविहिन बनेपछि बरु यहाँका प्रादेशिक अस्पताल नै गेटामा गाभेर भए पनि तत्काल चिकित्सा शिक्षाको पठनपाठन गराउन संघीय सरकारलाई मुख्यमन्त्री शाहले दबाब दिँदै आएका छन्। यति ठुलो लगानी गरेर भौतिक संरचना निर्माण गरिसकेको अवस्थामा चिकित्सा शिक्षाको तत्काल पठनपाठन गराउन मुख्यमन्त्री ज्युले छलफल थालेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले बताए।

प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन गर्न सुदूरपश्चिममा सञ्चालिन अस्पताल संघ सरकारलाई हस्तान्तरण गर्न प्रदेश सरकार तयार भएको छ। प्रादेशिक अस्पतालहरू हस्तान्तरण गर्न तयार रहेको विषय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी समेत गराइसकेको छ।

प्रस्तावित विश्वविद्यालयमा चिकित्सा शिक्षा यथाशक्य सुरु गर्न दबाबस्वरुप झकझक्याउने काम भइरहेको उनले बताए। ‘गेटाको अस्पताललाई कसरी चाडो सञ्चालन गर्न सकिन्छ भनेर पत्र पठाइएको हो। विकल्पसहित चाडै सञ्चालन गर्न पत्र पठाइएको अवस्था हो। विकल्पको रुपमा महाकाली र सेती प्रादेशिक अस्पताललाई गेटाबाट सञ्चालन गर्ने भन्ने विषय छलफलमा उठेको मात्र हो तर यही नै विकल्प हो भनेर पत्र पठाइएको छैन।’

उनले भने, यति ठूलो संरचना बनिसकेको छ। बनिसकेका संरचनालाई उपयोगमा ल्याउनुपर्छ भन्ने विषयमा छलफल भएको छ तर मुख्यमन्त्री कार्यालयबाट त्यस्तो कुनै निर्णय भने भएको छैन।’ चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा ३ सय शय्याको अस्पताल आवश्यक पर्छ। गेटामा हाल ५० बेड क्षमताको अस्पताल सञ्चालनको मात्र अनुमति छ।

सो विश्वविद्यालयमा पठनपाठन थाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने विकल्प अघि सारिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खनालले बताए। विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। २०८० असोज १९ मा संसद्मा दर्ता भएको सो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो। कानुन बन्ने प्रक्रिया चलिरहेकै बेला प्रदेशका तर्फबाट आवश्यक पहल थालिएको उनले बताए। गेटा अस्पतालमा २०८० कात्तिक १ मा ओपीडी सेवा सुरु भएको थियो। गत साउन ३२ देखि अन्तरंग (इन्डोर) सेवा पनि सुरु गरिएको छ।

कमेन्ट लोड गर्नुस