सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटन प्रिमियर लिग : कुलगडे  सुपर सिक्समा, पाटनको विजयी सुरुआत

२०८१ कार्तिक ३, ०९:१७ रासस

बैतडी : कुलगडे क्रिकेट क्लब, बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ। कुलगडे समूह ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो। यसअघि समूह ‘ए’ बाट पाटन भ्याली क्रिकेट क्लबले सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ। 

आज भएको खेलमा दीपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो। कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दीपचनले १९ दशमलव १ ओभरमा १२५ रनमा सीमित भयो।  आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्नबाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। कुलगडेका केशव बोहरा र पङ्कज लुहारले समान तीन–तीन विकेट लिए। 

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० सय रन बनाएको थियो। कुलगडेका पङ्कज लुहारले ५२, नवीन ठगुन्नाले ४० रन बनाएका बनाए। दीपचनका प्रकाश चन्द र शङ्कर टेलरले समान दुई–दुई विकेट लिए। कुलगडेका पङ्कज ‘म्यान अफ द म्याच’ भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए।

यस्तै, आजै भएको दोस्रो खेलमा आयोजक पाटन क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई हराएको छ। पहिला ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायो। जसमा सुमित बुडालले ६६ र दीपक बोहराले ४७ रनको योगदान गरे । नवजागृतिका सचिन विक र मोहन ठगुन्नाले दुई÷दुई विकेट झारे। 

जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा ‘अलआउट’ भयो। उसका कुनै पनि ब्याट्सम्यानले  राम्रो रन बनाउन सकेनन्। पाटनका सुभाष विष्टले पाँच विकेट हात पारे । सुभाष ‘प्लेयर अफ द म्याच’ पनि चुनिए।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने  क्लबका अध्यक्ष किरन चन्दले बताए द्वितीय पुरस्कार  ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ। 

यसैगरी, ‘म्यान अफ दी सिरज’ बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान ६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। 
यसअघि, पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआई) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।


 

कमेन्ट लोड गर्नुस