सुदूर नेपाललाई विश्वसँग जोड्दै

जरायली आक्रमणको धम्कीबीच इरानका शीर्ष कूटनीतिज्ञ कतारमा

२०८१ असोज २४, ०७:५९

इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीवार दोहामा आफ्ना कतारी समकक्षीसँग भेटवार्ता गरेका उनका प्रवक्ताले बताएका छन्। यो भेटवार्ता इजरायलले गत साता क्षेप्यास्त्र आक्रमणको बदला लिने चेतावनी दिएपछि भएको हो। 

कतारले गाजा युद्धविराम गराउने प्रयासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। लेबनानमा युद्धविराम गर्न आग्रह गरेको छ। लेबनानमा इजरायलले गत महिनादेखि इरान समर्थित हिजबुल्लाहका गढहरूमा बमबारी तीव्र पारेको छ। 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल एक्समा यस क्षेत्रमा जारी द्वन्द्वबारे अराघची र उनका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी बीच ‘महत्त्वपूर्ण परामर्श’ भएको बताएका छन। थानी कतारका प्रधानमन्त्रीसमेत हुन्। 

वार्तापछि उनले भने, ‘गाजामा नरसंहार र लेबनानमाथिको आक्रमण रोकेर हाम्रो क्षेत्रलाई थोपरिएको विपत्तिबाट जोगाउन सबै राज्यले आफ्नो प्रयास अधिकतम बनाउनु जिम्मेबारी कार्य हो।’ वार्ताको संवेदनशीलताका कारण नाम नखुलाई दिइएको जानकारी अनुसार अराघचीले गाजा, लेबनान र क्षेत्रीय तनाव कम गर्ने प्रयासबारे कतारी अधिकारीहरूसँग बैठक गर्ने अपेक्षा गरिएको थियो।

उनको भ्रमण इजरायलले बुधवार गत साताको तेहरानको व्यापक क्षेप्यास्त्र आक्रमणको बदला लिने धम्की दिएपछि भएको छ। इजरायलको उक्त धम्कीले यस क्षेत्रमा व्यापक युद्धको आशङ्का बढाएको छ। 

इजरायलका रक्षामन्त्री योभ ग्यालेन्टले इरानविरुद्ध जवाफी कारवाही ‘घातक, सटीक र आश्चर्यजनक’ हुने चेतावनी दिएका छन। 

बुधवार अराघचीले साउदी अरबमा वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहानसँग भेट गरेका थिए। 

इरानले वार्ताहरू इजरायली आक्रमणहरू अन्तर्गत प्यालेस्टिनी र लेबनानीहरूका लागि ‘राम्रो अवस्था’ प्रदान गर्ने उद्देश्यले गरिएको बताएको छ।
 

कमेन्ट लोड गर्नुस