सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरे : शंकर पोखरेल

२०८१ असोज ९, १२:२८ खबर संवाददाता

धनगढी: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन्। धनगढीमा प्रेस चौतारी, नेपालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको बताएका हुन।

अनुसन्धान रोक्ने प्रयासहरू भएका महासचिव पोखरेलले बताए। उनले भने, ‘अनुसन्धानलाई रोक्ने गतिविधि भइरहेका छन। यो कानुनी राज्य माथिको उपास हुन्। कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको विषयमा सहयोग गर्नुपर्छ। अनुसन्धानको विषयबाट भाग्ने कुरा उचित होइन।’ गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको उनले बताएका छन्। गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले बताएका छन्।

सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी भएकाले रवि लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढेको उनले बताएका छन्। उनले भने, ‘अभियोग गम्भीर हो। सहकारीले कम्पनीमा लगानी गर्न नहुने कानुन छ। सहकारीबाट कम्पनीमा रकम ल्याएर टेलिभिजन सञ्चालन गरिएको छ। सहकारीको रकम दुरुपयोग भएको छ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारीको रकम हिनामिनाका लागि टेलिभिजन सञ्चालन गरिएको आरोप समेत लगाएका छन्। सहकारी प्रकरणमा लामिछानेलाई क्लिन चिट नदिइएको उनको तर्क थियो। उनले सहकारीको रकम हिनामिनाको विषयमा थप अनुसन्धान प्रहरीले गर्दै आएको बताएका छन्। संसदीय आयोगले कानुन अनुसार कारबाही गर्न भनेको उनले बताएका छन।

 

कमेन्ट लोड गर्नुस