परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण
काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छन्।
सोमबार भएको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । नेपाल विपिन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै उनले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरिन्।
गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो। आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो। सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्रीले बताइन्।
विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताउँदै उनले भनिन्। “दोस्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ। हामी इतिहासको जटिल मोडमा उभिएका छौँ, सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकहरूको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको छ। जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको ७५ औँ वर्षमा हामी छौँ तर पनि नागरिकहरूको रक्षाका लागि यसले आत्मसात् गरेका सिद्धान्तहरूलाई बेवास्ता गरिरहेका छौँ। यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामीहरू सबै शान्तिपूर्ण सहअस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ।”
परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन। उनले गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारहरूमाथिको आक्रमणको निन्दा गरिन्।
मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरूको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्न चाहन्छ भनिन्।