सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली काँग्रेसले मनायो विपीको जन्मजयन्ती

२०८१ भदौ २५, १०:३८

धनगढीः नेपाली काँग्रेस, कैलालीले विपी कोइरालाको जन्मजयन्ती मनाएको छ। नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा मङ्गलवार पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १११औँ जन्मजयन्ती मनाइएको हो। नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा जन्मजयन्ती मनाइएको छ।

सो अवसरमा विपीले अवलम्बन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद विषयक अन्तरसम्वाद कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट र नृपबहादुर ओडले वीपीको फोटोमा संयुक्त रुपमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा विपी कोइराला र राष्ट्रियतासम्बन्धी कार्यपत्र नेपाली काँग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले प्रस्तुत गरे। कार्यपत्रमा वीपीको योगदानलाई विशेष उल्लेख गर्दै १०४ वर्षे निरंकुश राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका निम्ति उनले गरेको सशस्त्र आन्दोलनको महत्व प्रस्तुत गरिएको छ।

सुनारले प्रस्तुत गरेको कार्यपत्रमा बीपीको राजनीतिक जीवनको कठिनाइ र सङ्घर्षलाई समेत संक्षेपमा प्रस्तुत गरिएको छ। २००७ सालको क्रान्तिपछि जनस्तरबाट पहिलो गृहमन्त्री र २०१५ सालको संसदीय निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीको योगदानलाई मूल्याङ्कन गरिएको छ।

त्यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले बीपी र लोकतन्त्रको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बीपीको लोकतन्त्रप्रतिको अथक निष्ठा र उनी लोकतन्त्रको पक्षमा सदा वकालत गर्ने शिखर पुरुष रहेको बताइन्।

प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व उपाध्यक्ष जगन्नाथ जोशीले बीपीको प्रजातान्त्रिक समाजवाद सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। प्रस्तुत गरिएका कार्यपत्रमाथि सहभागीहरूले छलफल गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस सूचना सञ्चार तथा प्रचारप्रसार शाखाका संयोजक तपेन्द्र भुसालको अध्यक्षतामा र प्रचारप्रसार शाखाका सदस्य श्रवण देउवाले गरेका थिए।

यसका साथै नेपाल प्रेस युनियन कैलालीले शाखाले पनि बीपी जन्मजयन्तीका अवसरमा छलफल तथा चियापना कार्यक्रम सम्पन्न गरेको छ।

 

कमेन्ट लोड गर्नुस