कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको १४ करोड रकम अपचलनको आरोप
काठमाडौँः नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ।
रास्वपा सांसदले उनीमाथि छानबिन गर्न समेत संसद्मा माग गरेका छन्। सोमवार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद गणेश पराजुलीले सहकारीको रकम अपचलनबारे सांसद गुरुङमाथि छानबिनको माग गरेका हुन्।
‘सहकारीको बचत अपचलन छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसद्मा चर्को नाराबाजी गर्ने मध्येका एक माननीयज्यूविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको मिडियाहरूमा छ्यापछ्यापी देख्न पाइएको छ। उजुरी नै अन्तिम सत्य त होइन। तर उजुरी नपर्दा, प्रमाण नहुँदा पनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–केसम्म गरियो? संसारले प्रष्टसँग देखेको छ,’ पराजुलीले भने, ‘अब माननीय गुरुङको बारेमा छानबिन हुन्छ कि हुँदैन? भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयज्यूहरूलाई सोध्न चाहन्छु।’
धनराजकी पत्नी ज्योति प्रबन्ध निर्देशक रहेको ललितपुरको मितेरी सहकारी संस्थाका अध्यक्ष कुम्मराज राईले ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएका छन्। सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिमा पनि राईले ज्योतिले १४ करोड अपचलन गरेको बताएका थिए।