सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

२०८१ भदौ २३, ०५:०३ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन्।

कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ। ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन। अरु विषयमा पनि कुरा आइहाल्छ।’ बालुवाटार स्रोतले भन्यो।

छलफल ४ः३० बजेबाट सुरु भएको हो। कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। कांग्रेसको भागमा चार मन्त्री परेका छन्। पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन।

कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो। दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ। गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयक बारे छलफल गर्ने तय भएको छ।
 

कमेन्ट लोड गर्नुस