सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अब वर्षको चार महिना माछा मार्न प्रतिबन्ध

२०८१ भदौ १५, ०६:५६ नारायण अवस्थी

धनगढीः बझाङमा स्थानीय तहले सेती र त्यसका सहायक नदीमा माछा मार्न नदिने निर्णय गरेका छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका, थलारा, छविसपाथिभेरा गाउँपालिका, तलकोट र केदारस्यु गाउँपालिकाले वर्षमा चार महिना माछा मार्न प्रतिबन्ध लगाएका हुन्। सेती नदीमा माछाको संख्या घटेको भन्दै स्थानीय तहले भदौ–असोज र फागुन–चैतको महिना माछा मार्न निषेध गरेका हुन्। माछा मार्न करेन्ट लगाउने, जैविक तथा रासायनिक विषादी प्रयोग गर्ने क्रम बढेर माछाको संख्या घटेको भन्दै कानुन निर्माण गरेर माछा मार्न रोक लगाइएको हो।
प्रजनन सिजनमा माछा मार्न रोक
जयपृथ्वी नगरपालिकाले जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन, २०७६ को व्यवस्था अन्तर्गत प्रतिबन्धात्मक आदेश जारी गर्दै सेती नदीमा माछा मार्न रोक लगाएको छ। भदौ–असोज र फागुन–चैत महिनामा माछाको प्रजनन समय भएकाले सो समयमा माछा मार्न निषेध गरिएको सूचना नगरपालिकाले जारी गरेको छ।

माछाले फुल पार्ने महिनामा अत्यधिक मार्ने गरिएकाले माछाको पुनर्उत्पादनमा गिरावट आएपछि भदौ–असोज र फागुन–चैत महिनामा माछा मार्न प्रतिबन्ध लगाइएको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले बताए। उनले नदीमा माछाको संख्या घटेपछि संरक्षण गर्न प्रजनन् समयमा माछा मार्न बन्देज लगाइएको बताए।

‘सेतीमा माछाको संख्या घट्यो। अत्यधिक दोहनले माछा पाउन छोडेपछि संरक्षण र पुनर्उत्पादन बढाउन कानुन निर्माण गरेर भदौ–असोज र फागुन–चैतमा माछा मार्न नपाउने नियम लागु गरिएको हो’, उनले भने, ‘कानुन निर्माण गरेर वातावरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँग मिलेर संरक्षणको प्रयास थालिएको हो।’
सेतीसहित सहायक नदीमा समेत प्रतिबन्ध
सेती नदीमा बिगतमा प्रसस्त माछा पाउने भए पनि केही वर्षयता माछा पाउन मुश्किल हुने गरेको भन्दै स्थानीय तहहरूले जथाभावी माछा मार्न प्रतिबन्ध लगाउनुपरेको छविसपाथिभेरा गाउँपालिकाले जनाएको छ। सेती नदी र यसका सहायक अन्य साना नदीहरूमा पाउने माछाको तौल, संख्या तथा प्रजातिमै तीव्र गिरावट आएका कारण छविसपाथिभेरा गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा पर्ने सेती र यसका सहायक खोलामा माछा मार्न प्रतिबन्ध लगाएको प्रमुख प्रशासकीय अधिकृत गगन ऐडीले बताए।

उनले गाउँपालिकाले कानुन निर्माण गरेर नै माछा मार्न प्रतिबन्ध गरेको बताए। ‘नदीमा माछाको संख्या घट्न र प्रजातिसमेत लोप हुन थालेपछि माछाले फुल पार्ने समयमा मार्न नपाइने नियम लागु गरिएको हो’, उनले भने, ‘नदी नजिक बसोबास गर्ने स्थानीयहरूको समूह गठन गरेर माछा संरक्षण गर्न थालिएको हो। सेती नदी र अन्य खोलामा पनि वर्षको चार महिना माछा मार्न पूर्ण प्रतिबन्ध लगाइएको छ।’
निर्णय कार्यान्वयन गर्न समस्या
जयपृथ्वी नगरपालिका, छविसपाथिभेरा गाउँपालिका, तलकोट, थलारा र केदारस्यु गाउँपालिकाले कानुन निर्माण गरेर जथाभावी माछा मार्न नपाइने कानुनी व्यवस्था गरेका हुन्। कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सार्वजनिक रुपमा सूचना सम्प्रेषण गर्ने, सूचना टाँस गर्ने तथा स्थानीयको समूह बनाएर संरक्षणको जिम्मा समेत दिइएको छ।

तर, लुकिछिपी माछा मार्नेहरूलाई भने नियम पालना गराउन समस्या भएको तलकोट गाउँपालिकाका अध्यक्ष कलकबहादुर बोहराले बताए। सेती नदीमा माछाको संख्या निकै घट्यो, संरक्षण गर्दै पुनर्उत्पादन बढाउनुपर्छ भनेर प्रतिबन्ध लगाएका छौँ। तर, नियम पलना गराउन अलि समस्या छ’, उनले भने, ‘गाउँ, प्रहरी र स्थानीय समिति बनाएर नियन्त्रणको प्रयास थाल्छौं।’

सेती नदीमा १० वर्ष अगाडिसम्म न्यूनतम ५ देखि अधिकतम ६५ किलोसम्मको माछा पाउने गरे पनि हाल त्यति ठुलो माछा पाउन छोडेको छ। करेन्ट लगाएर, विषादी हालेर, नदीको धार परिवर्तन गरेर तथा बम हानेर माछा मार्दा विभिन्न प्रजातिका माछा लोप हुने अवस्थामा पुगेका छन्। सेती नदीमा पाइने शहर माछा, गिठी माछा, पापो, कठ्याल, धामी, झिरझिर माछा, बाघे, राडी, च्याउटे, थाले, चिम्टी लगायतका माछा पाउनै छोडेकाले वर्षको चार महिनामा माछा मार्न प्रतिबन्ध लगाइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस