सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारलाई बङ्गलादेश र श्रीलङ्का सम्झिन प्रचण्डको चेतावनी

२०८१ भदौ १३, ०६:४७ खबर संवाददाता

धनगढीः माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहिवारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरूको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले बङ्गलादेश र श्रीलङ्काको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका हुन्। ‘दुई तिहाइको घमन्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु। तपाईँ सुध्रिनुस् भनेको छु। राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौं भनेको छु। दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ,’ प्रचण्डले भने। दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताएका थिए।

‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ। संविधानमा रहेको समावेशी र समानुपातिकको व्यवस्था उहाँहरूलाई मन परेको छैन। त्यसमा दलित मुस्लिम, महिला, थारूहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन। उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ। समानुपातिक भनेपछि माओवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ’ प्रचण्डले भनेका थिए।

‘माओवादी फुट्ने हल्ला मात्रै हो’

प्रचण्डले माओवादी फुट्छ भन्ने हल्ला भ्रम मात्रै रहेको बताएका छन्। आफूहरू झन् एकताबद्ध भएकाले र आफ्नो पार्टीभित्र मात्रै होइन बाहिर रहेको माओवादी घटक क्रान्तिकारी शक्तिहरूलाई एउटै पार्टी बनाएर लैजान सशक्त रूपमा लागेको पनि बताए। प्रचण्डले सरकारबाट आफ्नो पार्टी बाहिर रहे पनि बिगतमा गरेका राम्रा काम जनताले सम्झेको दाबी गरेका छन्। उनले दुई ठुला पार्टी अहिले सरकार निर्माण गरे रक्षात्मक स्थितिमा रहेको टिप्पणी गरेका थिए।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने बताएका छन्। उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए । ‘५ वर्षे हदम्याद हामीलाई मात्र होइन नेपाली काँग्रेसलाई पनि स्वीकार हुँदैन होला जस्तो लाग्छ मलाई’ उनले भने। समग्रमा अहिले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा भयानक आर्थिक सङ्कटबाट बाहिर ल्याउन आफ्नो नेतृत्वको सरकार सफल रहेको प्रचण्डको जिकिर थियो ।

भट्टलाई दलको नेता बनाउन निर्देशन

प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराज भट्टलाई बनाउन निर्देशन दिएका छन्। धनगढीमा बसेको पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका हुन्।

‘यसअघि नै अध्यक्ष र महासचिवबाट खगराजलाई दलको नेता बनाउन सर्कुलर भइसकेको हो’ अध्यक्ष प्रचण्डले भने, ‘उक्त सर्कुलर तत्काल कार्यान्वयन हुन्छ। त्यसका लागि यो बैठकले निर्देशनात्मक निर्णय गरेको छ।’ असार १२ गते माओवादी अध्यक्ष र महासचिवले दलको नेता भट्टलाई बनाउन लिखित सर्कुलर गरेका थिए। तर, दुई महिनासम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन। उक्त विषयमा आफूले बैठकमा निर्देशन दिएको भन्दै अब दलको नेता फेरिने बताएका थिए।

संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरिएको थियो। त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए। धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन्। अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुँवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन्।

 

कमेन्ट लोड गर्नुस