सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन प्रतिबन्ध

२०८१ भदौ ११, ११:५८ खबर संवाददाता

काठमाडौँः तालिवानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ। कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ। साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ।

तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन्। यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ। तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ। यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्।

अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिवानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ। यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ। तालिवानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ।

नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइनेछ। यस पटक महिलाबाहेक तालिवानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ। घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्नेछ।

कमेन्ट लोड गर्नुस