सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती लोकमार्गका लागि आएको वजेट ५० प्रतिशत फिर्ता जाँदै

२०७६ जेठ ३१, १२:५४ कमल सावद

सुदूरपश्चिम प्रदेशको समृद्धिसंग जोडिएको सेती लोकमार्गमा ट्रयाक खोल्न, खोलिएको स्थानमा सडक विस्तार तथा कालोपत्रे र पुल निर्माणका लागि विनियोजन गरिएको बजेटको झण्डै आधा हिस्सा फ्रिज जाने भएको छ। लोकमार्गका लागि सरकारले यो वर्ष ४२ करोड २४ लाख विनियोजन गरेकोम १९ करोड ९९ लाख बजेट फ्रिज जाने देखिएको छ। लोकमार्ग अन्तरगत यो वर्ष कैलालीको बौनियादेखि बझाङको चैनपुर सम्मको दुई सय ४२ किलोमिटर सडक निर्माणका लागि मात्र १९ करोड ८२ लाख सडक र एक करोड ८५ लाख पुल निर्माणका लागि रकम विनियोजन भएको थियो। 
तर सडक तर्फको १९ करोड ८२ लाखमा १५ प्रतिशत अर्थात दुई करोड ९८ लाख मात्र खर्च भएको छ। पुल निर्माणका लागि विनियोजन भएको एक करोड ८५ लाखमा पनि ७५ प्रतिशत अर्थात एक करोड ४९ लाख मात्र खर्च भएको छ। सेती लोकमार्गको टिकापुर–लोडे–चैनपुर सडक खण्डका लेखापाल जयबहादुर थापाले वित्तिय प्रगति न्यून रहेको बताए। सडक निर्माणका लागि आएको वजेटमा खर्चको प्रगतिमा बृद्धि हुने देखिएको छैन्। पुलका लागि आएको वजेटको भने असार मसान्तसम्म केहि वृद्धि हुनसक्ने उनले बताए। सेती लोकमार्गको दक्षिणी तर्फको खण्डमा छ वटा ठेक्का छन्। तर वनका कारण काम भने प्रभावित छ। पुल तथा स्ल्याप निर्माणको काम मात्र भइरहेकाले खर्चको प्रगति बढि नहुने अनुमान गरिएको छ। 
उत्तरी खण्ड चैनपुर–ताक्लाकोट एक सय १७ किलोमिटर क्षेत्रमा निर्माणका लागि विनियोजन भएको रकममा भने कम रकम मात्र फिर्ता जाने देखिएको छ। चालु आर्थिक बर्षको एक महिना मात्र बाँकी रहेको अवस्थामा ४ करोड खर्च हुन बाँकी छ। चैनपुर–ताक्लाकोट खण्डका लागि २० करोड ८२ लाख रकम संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेकोमा ४ करोड खर्च गर्न बाँकी रहेको सेती लोकमार्गको चैनपुर–ताक्लाकोट सडक खण्डका सूचना अधिकारी दानबहादुर चन्दले बताए। सडक निर्माणको काम जारी रहेकाले एक महिनाको अवधिमा पनि वित्तिय प्रगतिमा बृद्धि हुने उनको दावी छ। उत्तरी खण्डमा दुई प्याकेजमा काम भइरहेको छ। 

वातावरणीय प्रभाव मूल्याङ्नमा ढिलाई हुँदा सेती लोकमार्गको काम प्रभावित

सेती लोकमार्ग अन्तरगत लम्कीदेखि अछाम सम्म मात्रै १० हजार बढि रुख काट्नुपर्ने

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस