धनगढीमा ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
धनगढी: धनगढी उपमहानगरपालिकाले अपाङ्गता सहायक सामग्री वितरण गरेको छ। शुक्रवार ८० जना अपाङ्गता भएका ब्यक्तिलाई सहयक सामग्री वितरण गरिएको हो।
अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्न उपमहानगरपालिकाले हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्ने कामलाई अभियानकै रुपमा लिएको छ।
शुक्रवार वडा नम्बर १,२,३,४,५,७ र ८ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिका परिसरमा सहायक सामग्री वितरण गरिएको हो। नगरपालिका परिसरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ५५ जनालाई सहायक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक पंकजा जोशीले बताइन्।
यस्तै, बेला क्लष्टरमा पर्ने वडा नम्बर ६, ११ र १३ मा बसोबास गर्ने लाभग्राहीहरूलाई घोर्सुवा स्वास्थ्य चौकीमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सहायक सामग्री वितरण गरिएको थियो। बेला क्लस्टर अन्तर्गतको घोर्सुवा स्वास्थ्य चौकीमा २५ जनालाई सहायक सामग्री वितरण गरिएको जोशीले बताइन्। शुक्रवार ८० जनालाई सहायक सामग्री वितरण गरिएको हो।
धनगढी उमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा क्लस्टर विभाजन गरी सहायक सामग्रीको लागि प्राविधिक स्क्रिनिङ पश्चात सामग्रीको वितरण गरिएको हो। धनगढीमा ५५ र बेलामा २५ जना गरी जम्मा ८० जनालाई बैसाखी, व्हीलचियर, ट्राइ साइकल, कम्बोट चेयर, हियरिङ एड र लठ्ठी लगायतका सहायक सामग्री वितरण गरिएको हो।