’एमपक्स’को प्रकोप फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपत्काल घोषणा
काठमाडौँ: विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स ’एमपक्स’ प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ।यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले उल्लेख गरेको छ।वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन्।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ’धेरै चिन्ताजनक’ अवस्था भनेका छन्। ’यो प्रकोप रोक्न र जीवन बचाउनको लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने। एमपक्स यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ।
यसमा फ्लू जस्ता लक्षणहरु देखिन्छन्। छालामा घाउहरू हुन्छन्। यो रोगबाट मृत्युको अनुपात १०० मा चार छ। नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो। नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो।
के हो मंकीपक्स?
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ। मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ।
सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ र सन् २०२२–२०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो। यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ। तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन्।
एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा–विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, ¥यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ।
यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ।
यसबाट बच्न के गर्ने ?
—एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
—संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने
—संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने
—घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने
—नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
—संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने
—मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने
—संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने
—संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने
—मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
—फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने