सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमआरपी लेबल अनिवार्य भएपछि सुदूरपश्चिमका भन्सार कार्यालय ठप्प

२०८३ वैशाख १८, ०४:१५ खबर संवाददाता

धनगढी: सरकारले विदेशबाट आयात हुने सामानमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरूको कामकाज प्रभावित भएको छ। एमआरपी उल्लेख नभएका सामानको भन्सार जाँचपास रोकिँदा कैलाली र कञ्चनपुरलगायतका भन्सार कार्यालयहरू ठप्पजस्तै भएका छन्।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० चैतमा पैठारी गरिने वस्तुहरूमा एमआरपी अनिवार्य गर्ने परिपत्र जारी गरेको थियो। सो निर्णय कार्यान्वयनका लागि १५ दिनको समय दिइएको र उक्त अवधि १५ वैशाखमा सकिएपछि एमआरपी अनिवार्य लागू गरिएको उनले बताए। एमआरपी उल्लेख नभएका सामानको जाँचपास रोकिँदा भन्सारको काम प्रभावित भएको उनको भनाइ छ।

कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले पनि एमआरपी नउल्लेखित सामानका कारण भन्सार कार्यालयको कामकाज ठप्पजस्तै भएको जानकारी दिए। यसअघि नै पैठारी भएका तथा स्टकमा रहेका धेरै सामानमा एमआरपी नलेखिएको हुँदा जाँचपास हुन नसकेको उनले बताए।

उपभोक्ता संरक्षण ऐनअनुसार विदेशबाट आयात गरिने सामग्रीमा आयातकर्ताले नेपाली वा अंग्रेजी भाषामा एमआरपी अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कडाइका साथ कार्यान्वयन गरिएपछि भन्सार कार्यालयबाट आयात प्रभावित भएको हो।

एमआरपी अनिवार्य लागू भएपछि आयात रोकिने र त्यसको असर बजारमा मालवस्तुको अभावका रूपमा देखिन सक्ने भन्सार अधिकारीहरूको भनाइ छ। एमआरपी उल्लेख भएका सामानको जाँचपासमा समस्या नभए पनि उल्लेख नभएका सामान रोकिँदा तत्काल समस्या देखिएको जनाइएको छ। यसले राजस्व संकलनमा पनि केही प्रभाव पर्ने भए पनि दीर्घकालमा भने राजस्व वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भन्सार कार्यालयहरूका अनुसार भन्सार बिन्दुमा स्वघोषणा गर्ने र सामान पैठारी भइसकेपछि एमआरपी लेबल लगाउने व्यवस्था मिलाइए जाँचपास सहज हुन सक्छ। सो व्यवस्था कार्यान्वयनका लागि भन्सार विभागले वाणिज्य मन्त्रालयसँग पत्राचार गरिसकेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस