सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई पूर्व प्रधानमन्त्री शेख हसिनाको आह्वान

२०८१ साउन ३०, १२:४०

एजेन्सीः बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आह्वान गरेका छन्।

डाक्टर मोहम्मद युनुसको अध्यक्षतामा हिजो बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेको छ। तर पूर्व प्रधानमन्त्री हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेको हो।

ढाका ट्रिब्युनका अनुसार डाक्टर युनुसको अन्तरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्ट १५ तारिखको सार्वजनिक बिदाको निर्णय रद्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ। बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उहाँको परिवारका धेरै सदस्यको हत्या गरेको थियो।

यसैको सम्झनामा यसअघि हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस