सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा लार्भा खोज र नष्ट गर अभियान जारी 

२०८१ साउन २९, ११:३७ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी रहेको छ।

केही दिन पहिला स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको थियो। उक्त अभियानलाई निरन्तरता दिँदै नगरपालिकाभित्रका स्वास्थ्य संस्थाले डेंगु नियन्त्रणका लागि पहल गरिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। 

लामुखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले यसको नियन्त्रणका लागि अभियान जारी रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले जानकारी दिए। लामखुट्टेको लार्भा हुन सक्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान जारी रहेको उनले बताए। पाटन नगरपालिकामा यो महिनामात्रै अहिलेसम्म ८ महिला र १ पुरुष गरी ९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

यस्तै एक जनामा मलेरिया पुष्टि भएको छ भने ५६ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने भएकाले यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए। अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकाले यो अभियान सरीक हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ। 

कमेन्ट लोड गर्नुस