गेटा अस्पतालमा १४१ जनाको दरबन्दी स्वीकृत, बिरामी भर्ना गर्ने तयारी
धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गरिने भएको छ।
ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको अस्पतालमा भदौदेखि बिरामी नै भर्ना गरेर उपचार गरिने भएको हो। फिजियोथेरापी र अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेको गेटामा भदौबाट इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत विस्तार हुने भएको छ। गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचार सुरू गर्ने भएको छ।
भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। ‘भदौबाट बिरामी भर्ना गरेर उपचार गर्ने तयारी थालिएको छ। अस्पतालमा अत्याधुनिक उपकरणबाट इन्डोस्कोपी र मेमोग्राफी सेवा पनि चलाउने तयारी गरेका छौँ’, कार्कीले भने। गेटा अस्पतालमा अहिलेसम्म ओपिडी सेवा मात्रै सञ्चालनमा छ। ओपिडी सेवाका लागि दैनिक ५० जना जति बिरामी आउने गरेका छन्।
अस्पतालमा हाल फिजियोथेरापी सेवा, जनरल फिजिसियन सेवा, हाडजोर्नी सेवा, प्रसूति सेवा, अल्ट्रासाउन्ड र प्रयोगशाला सेवा सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी कार्कीले बताए। ‘हामीले अस्पतालमा भदौबाट इन्डोर सेवा सञ्चालन गर्दैछौँ। इन्डोर सेवा सञ्चाल हुनासाथ थप उपचार सेवा सुरू हुनेछन्’, उनले भने, ‘भदौबाट इको कार्डियोग्राफी र मेमोग्राफी सेवा सुरू हुने भएको छ।
मेमोग्राफी सेवा सुरू भएसँगै सुदूरपश्चिममा पहिलोपटक स्तन क्यान्सरको समेत उपचार गरिने छ।’ गेटा अस्पतालमा प्रयोगशाला परीक्षण सेवासमेत विस्तार हुने भएको छ। अस्पतालले बायोकेमेस्ट्री, हेमाटोलोजी, हर्मोनल टेष्ट र अत्याधुनिक उपकरणबाट प्रोटिन एनालाइजर सेवा दिने भएको छ।
भदौबाट नै मध्यम किसिमको शल्यक्रिया सेवासमेत सुरू हुने भएको अस्पतालका सूचना अधिकारी कार्कीले बताए। गेटा अस्पताल सञ्चालन गर्न संघीय सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको छ। हाल ६५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालबाट उपचार सेवा दिइ रहेका छन्।