गेटा अस्पतालमा आवासीय भवन हस्तान्तरण नहुँदा सेवा विस्तारमा समस्या
धनगढीः कैलालीको गेटा अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफ लगायतका स्वास्थ्यकर्मी बस्ने भवन हस्तान्तरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ।
इनडोर सेवा प्रदान गर्न क्वाटर हस्तान्तरण नहुँदा समस्या भएको हो। हाल ओपिडी सेवा मात्रै सञ्चालन भइरहेको गेटा अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्ने तयारी थालिएको छ। तर, चिकित्सक, नर्सिङ स्टाफ र अन्य स्वास्थ्यकर्मीका लागि बनेका आवासीय भवन अस्पताललाई हस्तान्तरण नगर्दा सेवा विस्तार प्रभावित हुने भएको हो।
अस्पतालले आवासीय भवन हस्तान्तरण नहुँदा सेवा विस्तारमा समस्या भएको बताए पनि पूर्वाधार विकास समितिले भने क्वाटर निर्माणको काम नसकिएको बताएको छ। आइपिडी सेवा अर्थात् बिरामी भर्ना गरेर उपचार गर्न चिकित्सक, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीलाई अस्पताल परिसरभित्रै आवासीय सुविधा हुनुपर्छ।
हाल ६५ जना जनशक्ति व्यवस्थापन गरेर ओपिडी सेवा चलाउँदै आएको र बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गर्न आवासीय भवन हस्तान्तरण नहुँदा सेवा विस्तार गर्न समस्या भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए।
‘हामी सेवा विस्तारको तयारीमा छौँ तर आवासीय भवन हस्तान्तरण नहुँदा बिरामी भर्ना गरेर उपचार सेवा दिन समस्या होला जस्तो छ’, उनले भने, ‘आवासीय भवन हस्तान्तरण नगर्दा चिकित्सक र नर्सिङ स्टाफहरूले धनगढी र अत्तरिया बस्नु परेको छ।’ बिरामी भर्ना गरेर उपचार गर्न अस्पताल भित्रै आवासीय सुविधा हुनुपर्छ।
साउन अन्तिम साता तथा भदौमा बिरामी भर्ना गरेर उपचार थाल्ने तयारी गरिए पनि आवासीय भवन हस्तान्तरण नहुँदा सेवा प्रभावित हुने सम्भावना रहेको अस्पतालका सूचना अधिकारी कार्कीले बताएका छन्। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिले भौतिक निर्माणको काम गरिरहेको छ। अस्पताल भवन बाहेक अन्य संरचना समितिले हस्तान्तरण गरेको छैन।
आवासीय भवनको काम नै नसकिएको पूर्वाधार विकास समितिका निर्देशक बैकुण्ठ सुवेदीले बताए। उनले निर्माणको काम सम्पन्न नहुँदै भवन हस्तान्तरण कसरी र कसलाई गर्ने भन्दै प्रति प्रश्न गरे। ओपिडी सेवामा मात्रै सिमित गेटा अस्पतालको सेवा विस्तार गर्न अल्ट्रासाउन्ड, फिजियोथेरापी, इन्डोस्कोपी, इको कार्डियोग्राफी, मेमोग्राफीका लागि आवश्यक पर्ने उपकरण जडान गरिएको छ। यस्तै, मध्यम स्तरसम्मको शल्यक्रिया सेवा दिन शल्यक्रिया कक्ष निर्माण र उपकरण जडान भइसकेको छ। तर, आवासीय भवन हस्तान्तरण नहुँदा सेवा सुरू गर्न भने समस्या भएको भएको अस्पतालले जनाएको छ।