सुदूरपश्चिममा दलहरुको सत्ता दाउपेचका कारण दैनिक ४० लाख राजस्व गुम्दै
धनगढीः साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशको बजेट शून्यताको अवस्थामा छ।
सत्ता र प्रतिपक्षबिचको स्वार्थकेन्द्रित खिचातानीले प्रदेशको बजेट शून्यताको अवस्थामा पुगेको हो। दलहरूको सत्ता दाउपेचकै कारण सुदूरपश्चिम सरकार अस्तव्यस्त बन्न पुगेको छ। अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासतको मत लिएर मात्र पदबाट बाहिरिने बताउँदै आएका छन्।
मुख्यमन्त्रीको राजीनामा माग गर्दै आएको कांग्रेस–एमाले अध्यादेश ल्याउने बाटो रोकेर सरकारलाई गलाउने रणनीतिमा केन्द्रित छ। राजनीतिक दाउपेचकै कारण हाल राजस्व संकलनको काम ठप्प छ। एमालेले असार २० गते समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा छ। सदनबाट बजेट पारित गराउन सक्ने अवस्था नभएपछि सरकारले अध्यादेशबाट बजेट ल्याएर तत्कालको संकट टार्न खोजे पनि कुनै काम हुन सकेको छैन्।
सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री अक्कलबहादुर रावलले एमालेका कारण सुदूरपश्चिम बजेटविहीनताको अवस्थामा पुगेको बताए। आफ्नै अर्थमन्त्रीले ल्याएको बजेट पारित गराउन एमाले तयार नहुँदा अहिलेको अवस्था आएको उनले बताएका हुन्। तत्कालीन आर्थिक मामिलामन्त्री एमालेका सुरेन्द्रबहादुर पालले सदनमा बजेट प्रस्तुत गरेका थिए।
कांग्रेस–एमालेबिच सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति छ। तर बजेट शून्यतामा रहेको सुदूरपश्चिम सरकारले हरेक दिन ४० लाख हाराहारी राजस्व गुमाइरहेको छ। प्रदेश लेखा नियन्त्रक वासुुदेव जोशीका अनुसार साउनयता एक रुपैयाँ पनि राजस्व संकलन भएको छैन। गत वर्ष साउनमा प्रदेश सरकारले साढे १२ करोड राजस्व संकलन गरेको थियो। बजेट र यससम्बन्धी ऐनहरू असार मसान्तभित्र प्रदेश सभाबाट पारित भए मात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानुनी व्यवस्था छ।