माओवादी पदाधिकारी बैठक: जनपरिचालन र संगठन निर्माणमा जोड
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठक आइतबार पनि जारी रह्यो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएपछिको अवस्था र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका, जनपरिचालन र सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार बैठकमा नेताहरु जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि, श्रीराम ढकालले धारणा व्यक्त गरे । उनीहरुले सुशासन, सामाजिक न्याय र आर्थिक विकासका सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रभावकारी काम गरेको बताएका थिए।
सुशासन, भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार प्रभावकारी तवरले अगाडि बढ्न खोजेपछि संसद्को पहिलो र दोस्रो ठूलो दल एक आपसमा मिलेको उनीहरुको भनाइ थियो। प्रवक्ता सापकोटाका अनुसार, सरकारका रहँदा भएका सकारात्मक काम कारवाहीका विषयमा पनि सामूहिक रुपमा जनतामा लैजाने र कमी कमजोरीबारे सामूहिक रुपमा नै स्वामित्व लिनुपर्ने नेताहरुको भनाइ थियो।
शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा नेताहरुले सरकारबाट पार्टी बाहिरिँदा विजयी भावका साथ जनतामा जाने र त्यसका आधारमा संगठन विस्तार गर्ने अवसर पैदा भएको उल्लेख गरेका थिए। माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार दिउँसो १ बजे पनि जारी रहनेछ।