भारतको पलियामा सडक भत्कियो, सुदूरपश्चिममा इन्धन आपूर्ति ठप्प
धनगढीः सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ।
नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट गत आइतवारदेखि सुदूरपश्चिमका लागि इन्धन ल्याउन सकेको छैन। भारतको उत्तर प्रदेश अन्तरगत पलियास्थित सारदा नदीले सडक भत्काएपछि इन्धन आयात गर्न समस्या भएको हो। सारदा नदीले गौरीफन्टा जोड्ने राजमार्ग भत्काएको छ।
नेपाल आयल, धनगढीका प्रमुख हरिदत्त जोशीले गत आइतवारदेखि इन्धनको आपूर्ति बन्द भएको बताए। उनले भने, ‘वितरणमा समस्या भएकाले नेपालगञ्जबाट ल्याउदैछौ। एक हप्तादेखि बाटो बन्द भएको छ। आज हामीले हेरेर आएका छौ। सारदा ब्यारेजले सितारगञ्जमा सडक बगाएको छ।’ भारतको पलियामा सारदा नदीले पुलको उत्तर तिरको सडक बगाएको छ। नेपाल–भारत जोड्ने मुख्य राजमार्ग, नदीको पानीले बगाएको हो।
गत आइतवारको वर्षाले सडकमा क्षति गरेको भएपनि मर्मत गरिएको छैन। पानीको सतह कम नभएपछि मर्मतमा समस्या भएको हो। नेपाल आयल निगम, धनगढीका प्रमुखसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ। तर, केही दिनसम्म पानीको सतह कम नहुने र सडक सुचारु हुने अवस्था छैन। उनले भने, ‘समस्या भएको छैन। हाम्रो स्टोरेजबाट दिने गरेका छौ।
नेपालगञ्ज डिपोबाट २ दिनदेखि मगाउने गरेका छौ। रुट परिवतर्नका लागि केन्द्रको निर्णय चाहिन्छ। ढुवानी भाडामा फरक पर्छ।’ बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगञ्जबाट इन्धन ढुवानी थालेको छ। सुदूरपश्चिम प्रदेशका लागि आवश्यक डिजेल, पेट्रोल तथा मट्टीतेल नेपालगञ्जबाट आयात गर्न थालिएको हो। वर्षातको समय भएकाले इन्धनको माग कम भएकाले आपूर्तिमा समस्या नहुने तर्क आयल निगमको छ।
वर्षाको समयमा निर्माण कार्य नहुने र सवारीसमेत न्यून सञ्चालन हुने भएकाले इन्धन आपूर्तिमा समस्या नहुने आयल निगम, धनगढीका प्रमुख जोशीले बताए। उनले भने, ‘माग कम छ। बर्खाको समय भएकाले माग कम छ। पेट्रोलको ३/४ गाडी र डिजेलको ५÷६ गाडी माग हुने गरेको छ।’ नेपाल आयल निगमको धनगढी डिपोसँग पेट्रोलको सात सय ६० र ७० केएलको दुईवटा ट्याङ्की छन्। डिजेलको सात सय ७० केएलका दुईवटा ट्याङ्की छन्। तर, मौज्दात भने न्यून रहेको छ।