सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा भानु जयन्ती मनाइयो

२०८१ असार २९, ०५:४१ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती विविध कार्यक्रमको आयोजना गरेर मनाइएको छ।

प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा शनिवार अत्तरियामा प्रभातफेरी समेत गरिएको छ। प्रभातफेरीका क्रममा आदिकवि भानुभक्त आचार्यको फोटोलाई बजार परिक्रमा गराउँदै भानुभक्त आचार्यद्वारा रचित रामायण वाचन समेत गरिएको छ। सो अवसरमा विविध साहित्यिक रचना वाचन कार्यक्रमको पनि आयोजना गरिएको थियो।

पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभाध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति टीएन जोशी रहेका थिए। कार्यक्रममा गोदावरी नगरपालिका–४ का वडाअध्यक्ष हेमप्रकाश मल्ल, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गिरीराज कडायत लगायतको सहभागिता थियो।

कार्यक्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व तथा कृतित्वको विषयमा पुस्तकालयका संस्थापक सदस्य विनोदकुमार भट्टराईले प्रकाश पारेका थिए। सो अवसरमा गोदावरीबाट एसइई परीक्षा २०८० मा ४ जिपिए ल्याउने दुर्गालक्ष्मी नमुना माविकी विद्यार्थी नीतिका अवस्थी, सैनिक आवासीय महाविद्यालयका विद्यार्थी विकास रावत र सत्यवती एकेडेमीका छात्र निर्मल ठगुन्नालाई पुरस्कारसहित सम्मान गरिएको छ।

कमेन्ट लोड गर्नुस