लामो समय देखि विवादमा रहेका भुवन, प्रदीप र पूजा एक साथ देखिए
काठमाडौंः लामो समय देखि विवादमा रहेका नायक चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रदीप खड्का र नायिका पूजा शर्मा एक साथ देखिएका छन्।
कुनै समय आरोप–प्रत्यारोप गर्ने कलाकारबीच केही समयपछि हार्दिकता पनि पलाएको देखिन्छ। गत वर्षसम्म एकअर्काविरुद्ध खनिएका भुवन केसी र प्रदीप खड्काले पत्रकार सम्मेलन अवधिभर हार्दिकता देखाए। उनीहरुको मेलमिलाप हेर्दा लाग्थ्यो– यी दुईबीच कहिल्यै केही भएकै छैन।
‘प्रेमगीत ३’ रिलिजको बेला प्रदीपले खुलेरै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए। त्यसपछि भुवनले पनि सार्वजनिक मञ्चबाट प्रदीपको उछितो काढे। मंगलवारको पत्रकार सम्मेलनमा यस्तै अर्को दृश्य पनि देखियो, जहाँ भुवन र अभिनेत्री पूजा शर्माले पनि मेलमिलाप दर्शाए। हलमा छिरेकी पूजाले भुवनलाई नमस्कार गरेर अभिवादन गरिन्।
केही समयअघि एउटा फिल्मको प्रिमियरमा उनले भुवनको गाला मुसारेको भन्दै आलोचना समेत भएको थियो। बेलायतको लण्डनमा जुलाई ७ देखि २० सम्म नेपाल फिल्म फेस्टिभलको आयोजना हुँदैछ। दिनेश डीसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको यो फेस्टिभलमा पाँच नेपाली फिल्म स्क्रिनिङ हुने जनाइएको छ।
अन्तिम संस्कार र हल्कारा प्रदर्शन भइसकेका छन्। जुलाई १४ मा टुल्की र प्रसाद २ प्रदर्शन हुनेछन्। समापन कार्यक्रम २० तारिखमा ‘सरिता’ प्रदर्शन हुनेछ। समापन समारोहमा नेपालबाट शम्भुजीत बास्कोटा, भुवन केसी, दिलीप रायमाझी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, दिनेश डीसी, एलिश कार्की, अनिता चलाउने लगायत कलाकार त्यसतर्फ जाने बताइएको छ।