मध्यराति डकैती, प्रतिकार गर्दा ६२ वर्षीया महिलाको हत्या
पर्सामा मध्यराति डकैती गर्न घर पसेको समूहसँग प्रतिकार गर्दा ६२ वर्षीया महिलाको ज्यान गएको खुलेको छ।
धोबिनी गाउँपालिका–५ की लखरजिया देवीको ५ असोजको राति हत्या भएको प्रहरीले जनाएको छ। उनी भोलिपल्ट बिहान घरको दोस्रो तलाको कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।
घटना शंकास्पद देखिएपछि प्रहरीले सुरुमा हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको थियो। तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेर अनुसन्धान गर्दा लखरजियाको मृत्यु डकैती गर्न पुगेको समूहको आक्रमणबाट भएको खुलेको हो।
अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न आरोपमा धोबिनी गाउँपालिका–५ कै १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवानलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूले राति करिब साढे २ बजे लखरजियाको घरको पछाडिको पर्खालबाट माथिल्लो तलामा प्रवेश गरेका थिए। झ्यालबाट घरभित्र पसेपछि स्टिलको दराज फुटाएर पैसा र गरगहना निकालिएको थियो।
अरू कोठामा रहेको टिनको बक्सा फुटाउन थालेपछि लखरजियाले थाहा पाएपछि उनी माथिल्लो तलामा पुगेकी थिइन्। त्यसक्रममा डकैती गर्न आएका युवासँग उनको प्रतिकार भएको र उनीहरूकै आक्रमणबाट लखरजियाको ज्यान गएको प्रहरीको भनाइ छ।
प्रहरीले मृतकको घरबाट लुटिएको सुनका दुईवटा चुरा, नगद तथा घटनामा प्रयोग भएको चक्कु, पिलास र गाडीको स्प्रिङ पत्तासमेत बरामद गरेको जनाएको छ।
अनुसन्धानबाट तीनै जनाले घटनाको केही घण्टाअघि गाँजा सेवन गर्दै डकैतीको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। डकैतीपछि लुटिएको रकम तथा गरगहना आपसमा बाँडफाँट गरेको र त्यसैबाट पहिले उधारो खाएको पसलमा ३ हजार रुपैयाँ तिरेकोसमेत खुलेको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध हत्या कसुरमा ७ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।