सुदूरपश्चिममा सत्ता गठबन्धन पर्ख र हेरको रणनीतिमा
धनगढी: सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले फागुन २४ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
संविधान अनुसार सरकार अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३:०० का लागि प्रदेश सभाको बैठक बोलाइएको छ। नेकपा एमालेसहित माओवादी र समाजवादीको केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा सत्ता जोगाउन मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका सात मध्ये ५ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै, राप्रपा र स्वतन्त्र सांसदलाई पनि सरकारमा सामेल गराउने प्रयास गरिएको थियो। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका ७, एक/एक जना राप्रपा र स्वतन्त्र सांसदको समर्थन पाउन सके विश्वासको मतका लागि आवश्यक पर्ने २७ मत पुग्ने छ। तर, नागरिक उन्मुक्तिका २ जना मध्ये एक जनाले मात्रै समर्थन नगर्दा मुख्यमन्त्री शाहले सरकार छोड्नुपर्ने छ।
यस्तै राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले शाहलाई समर्थन गर्ने या नगर्ने निर्णय मतदान प्रक्रिया सुरु भएपछि गर्ने भएका छन्। राप्रपा सांसद खेमादेवी बिष्टले मुख्यमन्त्री शाहको पक्षमा २६ मत पुगे २७ औँ मतका लागि पक्षमा मतदान गर्ने बताएकी छन्।
मुख्यमन्त्री शाहले विश्वासको मत लिन कसरत गरिरहेको बेला नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धनले भने पर्ख र हेरको रणनीति अपनाएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिने कुराको छिनोफानो भएपछि मात्रै सत्ता गठबन्धनले आवश्यक कदम चाल्ने नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बताए। उनले गठबन्धन दलहरू मुख्यमन्त्री शाहको विश्वासको मत लिने प्रक्रियाको नतिजाको पर्खाइमा रहेको बताए। "हामी अहिले मुख्यमन्त्री शाहले विश्वासको मत पाउँछन् या पाउँदैनन् त्यो हेरिरहेका छौँ," उनले भने, "उहाँले विश्वासको मत नपाएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गर्ने र त्यसपछि प्रक्रिया थाल्ने छौँ।"
मुख्यमन्त्री शाहले विश्वासको मत हासिल नगरेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) वा (५) बमोजिम प्रदेश प्रमुखले नयाँ सरकार निर्माणका लागि आह्वान गर्नेछन्। केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच भएको छ। समझदारी अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त नगरेको अवस्थामा समझदारीअनुसार दलहरू अगाडि बढे नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी नयाँ मुख्यमन्त्री बन्नेछन्।