नागरिक उन्मुक्तिकी अध्यक्षले गरिन राज्यमन्त्रीलाइ कारबाही
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन्।
उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नआएपछि हटाउने निर्णय लिएको श्रेष्ठले बताइन्। रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो।
लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्। तर कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेनन्। रञ्जीता पक्ष मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए। श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरुलाई भने कारबाही गरेकी छैनन्। नागरिक उन्मुक्तिका ७ प्रदेश सभा सदस्यमध्ये गिरी र टीका थापा समानुपातिक हुन्।