धनगढीमा पाँचवटा सामुदायिक विद्यालयलाई ‘स्मार्ट बोर्ड’ वितरण गरिँदै
धनगढीः कैलालीको धनगढीमा पाँचवटा सामुदायिक विद्यालयलाई एक करोड १० लाखको स्मार्ट बोर्ड वितरण गरिने भएको छ।
नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत ग्रामीण भेगका पाँचवटा विद्यालयलाई स्मार्ट बोर्ड दिन लागिएको हो। सामुदायिक विद्यालयमा पठनपाठन गुणस्तरीय र प्रभावकारी बनाउन उपमहानगरले विभिन्न पाँचवटा सामुदायिक विद्यालयलाई नमुना विद्याल घोषणा गरेको छ।
स्मार्ट बोर्ड र शिक्षकहरूलाई आवश्यक तालिम दिएपछि ती विद्यालयमा प्रविधिको प्रयोग गरी पठनपाठन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए। धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पाँचवटा सामुदायिक विद्यालयमा नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागु गरेको हो।
वडा नम्बर ९ को भवानी माध्यमिक विद्यालय, वडा नम्बर ११ को ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १२ को सिद्धार्थ माध्यमिक विद्यालय, वडा नम्बर १६ को बेहडा बाबा र १८ को चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ। नमुना विद्यालय घोषणा गरिएका विद्यालयमा उपमहानगरले यो वर्ष एक करोड १० लाखको स्मार्ट बोर्ड वितरण गर्ने निमिक्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए।
‘यो वर्ष हरेक विद्यालयमा १०/१० वटाका दरले पचास स्मार्ट बोर्ड वितरण गरिनेछ। चन्द्रोदय र सिद्धार्थ माध्यमिक विद्यालयमा स्मार्टबोर्ड जडान गरिएको छ भने बाँकी तीन विद्यालयमा जडानको काम भइरहेको छ’, खातीले भने। कक्षा कोठामा स्मार्टबोर्ड जडान भएपछि पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्माण गरेका लर्निङ्ग पोर्टल प्रयोग गरेर कक्षाकोठामा सिकाइ क्रियाकलाप गर्न सहज हुने अधिकृत खातीले बताए। सामुदायिक विद्यालयको पठनपाठन सबल र प्रतिस्पर्धी बनाउन उपमहानगरपालिकाले कक्षाकोठामा स्मार्टबोर्डको माध्यमबाट शैक्षिक क्रियाकलाप गर्ने नीति लिएको छ।