कैलालीमा ‘जुवा’ खेल्ने र खेलाउने समुह जताततै, १५ जना विरुद्ध मुद्दा
धनगढीः यही चैत ३ गते कैलालीको धनगढी उपमहानगरपालिका–७ मोती चोकमा रहेको कैलाली होटलका सञ्चालकसहित सात जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परे।
धनगढी उपमहानगरपालिका–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउदसहित ७ जुवाडेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जुवाडेहरुबाट प्रहरीले नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक तास समेत नियन्त्रणमा लिएको हो। केही दिनअघि मात्र धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पनि प्रहरीले ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो।
धनगढीमा मात्र नभएर अत्तरिया, टीकापुर, उता कञ्चनपुरको महेन्द्रनगर लगायत सहरी एवं ग्रामीण क्षेत्रसम्मै कानुन विपरीत जुवा खेल्ने र खेलाउने समुह सक्रिय देखिएको पछिल्ला घटनाक्रमले देखाएको छ। तर जुवा खेल्ने र खेलाउने सबै विरुद्ध भने मुद्दा लाग्ने गरेको छैन्। कतिपय जुवाडे र जुवा खेलाउने समुह मिलेमतोमा छुट्ने गरेका छन्।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दर्जनौको संख्यामा प्रदेशका विभिन्न स्थानबाट प्रहरीले जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएको भए पनि थोरै व्यक्तिलाई मात्र कानुनी दायरामा ल्याएको पाइएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिममा जूवा खेल्न वा सट्टाबाजी गरेको भन्दै १५ जना विरुद्ध मात्र मुद्दा चलाइएको छ। जूवा खेल्न वा सट्टाबाजी गर्नु कानुनी रुपमा अपराध हो।
‘जुवा’ भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ।
यस्तो अवस्थामा जुवा मानिने छैन
कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेललाई जुवा मानिने छैन्। अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठा पनि जुवा मानिने छैन्।
‘जुवा खेलाउने’ भन्नाले आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी साधन जानीजानी उपलब्ध गराई वा जुवा खेल्नको लागि कुनै किसिमको साधन उपलब्ध गराई जुवा खेलाउने व्यक्ति सम्झनु पर्छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ। तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत हुने छैन्। कसैले सट्टाबाजी गर्नु वा गराउनु हुँदैन।
उपदफा (४) को प्रयोजनको लागि कसैले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसूर गरेको मानिनेछ। उपदफा (४) बमोजिमको कसूर भएमा त्यसमा प्रयोग भएको विगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ। यस दफा बमोजिमको कसूरमा पटके कायम गर्दा अदालतबाट कसूरदार ठहरेको आधारमा कायम गरिनेछ।
जुवा खेल्ने र खेलाउने दुबै दोषी
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ।