सुदूरपश्चिममा फोमसहितको दमकलको अभाव, अब धनगढीले भित्र्याउँदैछ
धनगढीः कैलाली र बर्दियाको सीमानामा पर्ने कर्णाली पुलमा से ५ ख ५२९७ नम्बरको ट्रकमा आगलागी भयो।
सोमवार दिउसो साढे ४ बजे ट्रकमा आगो लागेको हो। वीरगञ्जदेखि महेन्द्रनगर आउदै गरेको लाइटर बोकेको ट्रकमा लागेको आगो राति ८ बजेर ५० मिनेटमा मात्र नियन्त्रणमा आयो। बारुण यन्त्रको पानीले ट्रकमा लागेको आगो निभाउन सकेन। जिसीबीले ट्रकसहित पुल मुनी फालेपछि आगो नियन्त्रणमा आएको थियो। लाइटर ग्यासबाट बल्ने भएकाले पानीले आगो नियन्त्रणमा ल्याउन मुश्किल भएको हो।
सुदूरपश्चिममा ग्यास, पेट्रोल पम्प तथा बहुतला भएका भवनहरुमा लागेको आगो नियन्त्रण गर्न दमकलको अभाव छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाले फोम र पानीसहित आगो निभाउने दमकल सुदूरपश्चिममा नभएको बताए। उनले भने, ‘हामीसँग फोम र पानी मिक्स गरेर निभाउन दमकल छैन। सुदूरपश्चिम भरीमा छैन। प्रदेश सरकारसँग माग गरेका थियौ। बहुतले घरहरुमा लागेको आगो निभाउन पनि दमकल छैन।’
सुदूरपश्चिम प्रदेशमा पेट्रोल तथा डिजेल, ग्यास, क्यामिकल लगायतका अति प्रज्वलनशील पदार्थमा लागेको आगो नियन्त्रणका लागि फोमसहितको अत्याधुनिक दकमल छैन्। यस्तो यन्त्र नहुँदा चिसापनीको पुलमा ग्याससहितको ट्रकमा लागेको आगो निभाउन सोमवार झण्डै पाँच घण्टा समय लागेको थियो। लाइटरसहितको ट्रक पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्र आगो नियन्त्रणमा आएको थियो।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सातवटा दमकलले पनि आगो निभाउन नसकेको बताए। उनले भने, ‘सातवटा दमकल प्रयोग गरेका थियौ। दमकलको भरपूर प्रयोग गर्दा पनि आगो नियन्त्रणमा आएन। नयाँ प्रविधि हामीसँग छैन। सुदूरपश्चिम मात्र होइन, नेपाल सरकारसँग पनि छैन।’ सुदूरपश्चिम प्रदेश सरकारलाई धनगढी उपमहानगरपालिकाले वारुणयन्त्र माग गर्दै गत असोज ११ गते पत्र पठाएको थियो।
उपमहानगरपालिकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उच्च जोखिम नियन्त्रणका लागि फोमसहितको दमकल माग गरेको हो। फेरि कात्तिक ६ गतेसमेत उपमहानगरपालिकाले प्रदेश सरकारलाई पत्र पठाएको छ। उपमहानगरपालिकाले सञ्चालनको खर्च, मर्मत तथा जनशक्तिको व्यवस्थापन गर्ने बताएको थियो। प्रदेशका ८८ वटै स्थानीय तहहरुका लागि दमकल प्रयोग गरिने भनिएको थियो। तर, प्रदेश सरकारले बेवास्ता गरेको छ।
प्रदेश सरकारले बेवास्ता गरेपछि उपमहानगरपालिकाले भने नयाँ प्रविधिसहितको दमकल खरिदका लागि बोलपत्र आह्वान गरेको छ। नगर प्रमुख हमालले दमकल खरिदका लागि सम्झौता भएको बताए। ‘ठुलो दमकल किन्न सकेनौ। तर, फोमवाला खरिद गर्दैछौ। तर, त्यो प्रयाप्त होइन। अध्याधुनिक खरिद गर्नुपर्छ,’ उनले भने।
ठुला भवनहरुमा लागेको आगो निभाउन समस्या हुने उनले बताए। नयाँ प्रविधिसहतिको दमकलले पेट्रोल पम्प, केमिकल भएको ठाउँ र ग्यास उद्योगहरुमा लागेको आगो निभाउन सहज हुनेछ। नयाँ प्रविधिको दमकलमा धुँवामा पनि देखिने लाइट जडान गरिएको हुन्छ। ५० डिग्री कोणसम्म पानी फाल्न सक्ने हुन्छ। यसबाट सात तलामाथि लागेको आगोसमेत निभाउन सक्ने क्षमता हुन्छ।