धनगढीमा विद्यालयको ताल ठेक्कामा लिएका सिंहबाट ५४ लाख असुल गर्न सकस
धनगढीः कैलालीको धनगढीमा एक विद्यालयको ताल ठेक्कामा लिएको ठेकेदारले चार वर्षसम्म भाडा नतिरेको खुलासा भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित शिव माध्यमिक विद्यालयको ताल ठेक्कामा लिएको ठेकेदारले सम्झौता अनुसारको करिब साढे ५४ लाख रुपैयाँ भाडा बाफतको रकम तिर्न आनाकानी गर्दै आएको हो।
धनगढी उपमहानगरपालिका–२ का प्रकाश सिंहले माछा पालन गर्ने भन्दै पाँच वर्षका लागि लिजमा लिएको तालको भाडा नतिर्दा विद्यालयलाई भने समस्या भएको छ। ठेकेदार सिंहले रकम तिर्न अटेरी गरेपछि विद्यालयलाई शिक्षक र कर्मचारीको तलब खुवाउन समस्या भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरस्थित शिव माध्यमिक विद्यालयले २०७७ जेठ ११ मा विद्यालयको स्वामित्वमा रहेको दुइटा ताल ठेक्कामा लगाएको हो।
विद्यालयले १५ बिघाको सहदेव ताल र डेढ बिघाको बिरिया चटिया ताललाई वार्षिक २० लाख ५२ हजार एक सय रुपैयाँ पाउने गरी पाँच वर्षका लागि लिजमा दिएको छ। धनगढी–२ घर भएका प्रकाश सिंहले वर्षमा दुई किस्तामा रकम बुझाउने सर्तसहित ठेक्का हात पारेका हुन्। तर टिम इन्टरप्रिनर्स प्रालिका सञ्चालक सिंहले सुरु वर्षको पहिलो किस्ता र थप गत माघमा ७ लाख १० हजारबाहेक चार वर्षसम्म हुन आउने बाँकी रकम नतिरेको प्रधानाध्यापक तिलकबहादुर सिंहले बताए। ‘पहिलो किस्ता उहाँले निर्धारित समयमै तिर्नु भो। त्यसपछि हामीले पटक–पटक लिखित र मौखिक जानकारी गर्दा पनि रकम तिर्नु भएन,’ ‘प्रधानाध्यापक सिंहले भने, ‘उहाँलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा आमन्त्रण गर्दा पनि अहिलेसम्म रकम तिर्नु भएको छैन। ठेक्का तोड्न आग्रह गर्दा पनि ठेक्का तोडिएको छैन।’
माछा पालन गर्ने र वार्षिक दुई किस्तामा सम्झौता बमोजिमको रकम तिर्ने कागज गरेका व्यवसायी सिंहसँग विद्यालयले पाँच वर्षको ठेक्का सम्झौता गरेको छ। सम्झौतामा पहिलो किस्ता हरेक वर्ष घटस्थापना भन्दा ७ दिन अगाडि र दोस्रो किस्ता फागुन मसान्तमा तिर्ने कबुल गरेका छन्।
सम्झौताअनुसार ठेकेदारले किस्ता नबुझाए तालमा प्रवेश रोक लगाइ सय कडा २ प्रतिशतका दरले किस्ता असुल उपर गरिने उल्लेख छ। पाँच वर्षे सम्झौताको एक वर्ष मात्रै बाँकी रहेको भए पनि ठेकेदार सिंहले विद्यालयको तालमा हरेक वर्ष माछा पालन गरेर बिक्री गर्दै आए पनि भाडा तिर्न भने आनाकानी गर्दै आएको प्रधानाध्यापक सिंहले बताए। ‘ठेकेदार सिंहले सम्झौता बमोजिम विद्यालयलाई हालसम्म ५४ लाख ४७ हजार ३ सय रुपैयाँ तिर्न बाँकी रहेको छ,’ उनले भने, ‘तालमा माछा पाल्ने काम गरेकै छन्, तर विद्यालयको रकम तिर्न आलटाल गर्दै आएका छन्।’
चार वर्षसम्म विद्यालयको तालमा माछा पालन गरेका सिंहले विद्यालयलाई वार्षिक रूपमा रकम नबुझाउँदा विद्यालयलाई निजीस्तरमा राखिएका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ। तालबाट हुने आम्दानीलाई मध्यनजर गरेर विद्यालयमा ४ शिक्षक र एक जना कार्यालय सहयोगी नियुक्त गरिएको छ। विद्यालयको एक मात्र आयस्रोत तालको रकम ठेकेदारले अहिलेसम्म नतिर्दा शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएको प्रधानाध्यापक सिंहले बताए। ‘विद्यालयको आम्दानीको स्रोत ताल मात्रै हो। तालको आम्दानीबाट तलब दिने भनेर चार जना शिक्षक र एक जना कार्यालय सहयोगी नियुक्त गरिएको छ। तालबाट आउने रकम ठेकेदारले नदिँदा निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ,’ प्रधानाध्यापक सिंहले भने।
चार वर्षसम्म तालको भाडा नदिएका प्रकाश सिंहलाई पटक–पटक लिखित र मौखिक ताकेता गर्दा समेत रकम नबुझाएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित गराउँदा समेत रकम चुक्ता नगरिएको पाइएको छ।
शिव माध्यमिक विद्यालय जस्तै धनगढीका अन्य सामुदायिक विद्यालयहरूसँग भएको जग्गा पनि लिजमा लिने र भाडा रकम नतिर्ने समस्या छ। यो विषयमा ताल ठेक्कामा लिएका प्रकाश सिंहसँग कुराकानी गर्न खोज्दा उनले फोन उठाएनन्।