सुदूरपश्चिममा पुरुषभन्दा महिलाको संख्या डेढ लाखले बढी
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र पुरुषको तुलनामा महिलाको संख्या बढी छ।
प्रदेशभित्र पुरुषको तुलनामा महिलाको संख्या एक लाख ४९ हजार दुई सय ११ ले बढी छ। जिल्लागत रुपमा सबैभन्दा बढी कैलालीमा महिलाको संख्या बढी देखिएको छ। जिल्लामा चार लाख ७१ हजार दुई सय १० महिला र चार लाख ३३ हजार चार सय ५६ मात्र पुरुष जनसंख्या देखिएको छ। नेपालको पछिल्लो जनसंख्या २०७८ अनुसार सबैभन्दा कम जनसंख्या दार्चुलामा देखिएको छ।
जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या भने बढी छ। दार्चुलामा ६८ हजार ८ सय ८६ महिला र ६४ हजार चार सय २४ पुरुष जनसंख्या रहेको छ। कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी जनसंख्या छ। सो जिल्लामा पनि महिलाको संख्या उच्च देखिएको छ। कञ्चनपुरमा दुई लाख ७३ हजार ७१ महिला र दुई लाख ४० हजार ६ सय ८६ जनसंख्या पुरुषको देखिएको छ।
बैतडीमा पनि महिलाको संख्या उच्च देखिएको छ। जिल्लामा एक लाख २८ हजार दुई सय ९३ महिला र एक लाख १३ हजार ८ सय ६४ पुरुष, डडेल्धुरामा ७३ हजार ७ सय ९ महिला र ६५ हजार ८ सय ९३ पुरुष, बझाङमा एक लाख ६ सय १५ महिला र ८८ हजार ४ सय ७० पुरुष जनसंख्या रहेको छ।
त्यस्तै बाजुरामा ७१ हजार चार सय ५३ महिला र ६७ हजार ७० पुरुष, डोटीमा एक लाख ११ हजार २ सय २७ महिला र ९३ हजार ६ सय ४ पुरुष तथा अछाममा एक लाख २३ हजार पाँच सय ३३ महिला र एक लाख पाँच हजार तीन सय १९ पुरुष जनसंख्या रहेको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या सबैभन्दा बढी देखिएको छ। सुदूरपश्चिमका ९ जिल्लाहरुमध्ये कैलाली जिल्लाको जनसंख्या सबैभन्दा बढी ९ लाख चार हजार ६ सय ६६ र दार्चुला जिल्लाको सबैभन्दा कम एक लाख ३३ हजार ३ सय १० जनसंख्या रहेको छ।
बैतडी, डडेलधुरा, बझाङ, डोटी र अछाम जिल्लामा २०६८ सालको जनसंख्याको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ भने अन्य जिल्लाहरुमा बढेको छ। २०७८ सालको जनगणना अनुसार कैलाली जिल्लाको जनसंख्या सबैभन्दा बढी १६ दशमलव ६२ प्रतिशतले बढेको छ भने अछाम जिल्लाको जनसंख्या ११ दशमलव १२ प्रतिशतले घटेको छ।
२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्याको ९ दशमलव २४ प्रतिशत हिस्सा रहेको यस प्रदेशको वार्षिक औषत जनसंख्या वृद्धिदर शुन्य दशमलव ५२ प्रतिशत रहेको छ। यसैगरि जनघनत्व १३९ जना प्रति वर्ग किलोमिटर रहेको छ जुन राष्ट्रिय जनगणना २०६८ मा १३१ जना प्रति वर्ग किलोमिटर थियो। यस प्रदेशको जनसंख्यामा पुरुषको संख्या १२ लाख ७२ हजार ७८६ र महिलाको संख्या १४ लाख २१ हजार ९ सय ९७ रहेको छ। लैंगिक अनुपात सबैभन्दा बढी मधेश प्रदेशमा १००.५५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ८९.५१ प्रतिशत रहेको छ।