सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार जना प्रहरी हिरासतबाट छुटे, वर्तमान र पूर्व अध्यक्ष अझै फरार

अत्तरियामा नक्कली टीकट प्रकरण

२०८० फाल्गुन १८, ०१:०७ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा नक्कली टीकट ठेली प्रकरणमा मुछिएका चार जना प्रहरी हिरासतबाट छुटेका छन्।

अत्तरिया उद्योग वाणिज्य संघका महासचिव, सचिव, कार्यसमिति सदस्य र विद्यार्थी नेता हाजिरी जमानीमा छुटेका छन भने वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटा अझै फरार छन्। बोहरा र देबकोटाको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको दुई साता वितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन्।

दुबै जनालाई पक्राउ गर्न गत माघ अन्तिम साता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। तर प्रहरीले खोजीकार्य तीव्र पारेको दाबी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन्। अत्तरियामा आयोजना गरिएको महोत्सवमा नक्कली टीकट ठेली प्रकरणमा यसअघि संघकै महासिचव, सचिव, कार्यसमिति सदस्य दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका स्ववियु सभापति गरी चार जनाको नाममा पक्राउ पुर्जी जारी भएर उनीहरुलाई प्रहरी हिरासतमा राखिएको थियो।

उनीहरु चारै जनामाथि अनुसन्धान भएर एक हप्ता अघि नै छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, कार्यसमिति सदस्य बमबहादुर बोगटी र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्ववियु सभापति भुवन महरालाई छोडिएको छ। वर्तमान अध्यक्ष बोहरा र निवर्तमान अध्यक्ष देवकोटाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस