सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पुरैना तालको रेखाङ्कन गर्न सुरु

२०८० फाल्गुन १६, ११:०३ खबर संवाददाता

धनगढीः कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४÷०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो। ताल पुरिएरसँगै स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखाङ्कनको कार्य सुरु भएको हो।

तालको रेखाङ्कनको लागि डिभिजन वन कार्यालय पहलमानपुर र सबडिभिजन वन कार्यलयले तीन वर्षदेखि निरन्तर रूपमा पहल गर्दै आएका थिए। रेखाङ्कनका नापी कार्यालय कैलालीलाई डिभिजन वनले कर्मचारी खटाइदिन पटकपटक पत्राचार गरेको थियो। नापी कार्यालय कैलालीका प्रमुख जनकराज भट्टले पुरैना ताल रेखाङ्कनका लागि दुई जना अमिन कर्मचारी खटाएको र त्यस रेखाङ्कन कार्यलाई कार्यस्थल रूपमा सहकार्य नापि अधिकृत इन्द्र बहादुर देउवा जिम्मेवारी दिएको बताए।

तालको रेखाङ्कनका लागि भजनी नगरपालिकाका जनप्रतिनिधि, स्थानीयहरू, सब डिभिजन वन भजनी, सामुदायिक वन समन्वय समितिसँग आवश्यक पटकपटक निरन्तर रूपमा तीन वर्षदेखि छलफलपछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन सुरु गरिएको हो।

कैलाली प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहित नापी कार्यालय कैलालीका प्रमुख जनक राज भट्ट, प्रहरी उपरीक्षक देवेन्द्र पाल, प्रमुख सेनानी रवी केसी, राष्ट्रिय अनुसन्धानका हरिष विष्टलगाएतका वनका कर्मचारीहरू र जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरेका थिए।

बसन्ता संरक्षित वन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ। पानी भएको कोर क्षेत्र ७९ दशमलव २१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो।

मोहना नदिमा २०६५ सालमा आएको बाढीले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो। पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा परिणत गरेको थियो।

 

कमेन्ट लोड गर्नुस