राष्ट्रिय मावि सुखडको ३५ दिने सूचनाको अवज्ञा, पुनः ७ दिने सूचना जारी
धनगढीः कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ३५ दिने सूचनाको अवज्ञा गरिएको छ।
विद्यालयले ३५ दिनभित्र कित्ता नम्बर ९७ को जग्गा खाली गर्न दिएको निर्देशनको अवज्ञा गरिएको हो। विद्यालयले गत माघ ९ गते कित्ता नम्बर ९७ को ८ कट्ठा जग्गा खाली गर्न ३५ दिनको सूचना जारी गरेको थियो। तर, कित्ता नम्बर ९७ मा व्यापार तथा बसोबास गर्दै आएकाहरूले जग्गा खाली गरेका छैनन्। उनीहरूलाई घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ७ दिनभित्र संरचना हटाउन अर्काे सूचना समेत जारी गरेको छ।
विद्यालयको दर्ता जग्गामा अस्थायी घरटहरा निर्माण गरिएकोमा हटाउन भनिएको छ। विद्यालयले सोमवार एक सूचना प्रकाशित गरी विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफल भएको कित्ता नम्बर ९७ मा निर्माण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन निर्देशन दिएको छ। ३५ दिने सूचना प्रकाशितपछि विद्यालयले अर्को ७ दिनको अर्को सूचना समेत जारी गरेको छ।
सात दिनभित्रमा विद्यालयको जग्गामा निर्माण गरिएका संरचना खाली नगरेको खण्डमा जुनसुकै सयमा पनि विद्यालयले बल प्रयोग गर्ने जारी सूचनामा उल्लेख छ। विद्यालयले बल प्रयोग गर्दा हुने व्यक्तिगत तथा धनजनको नोक्सानीको जिम्मेवारी स्वयम् व्यक्तिले लिनुपर्ने सूचनामा भनिएको छ। विद्यालयको जग्गामा बसोबास गर्दै आएकाहरूले फागुन २१ गतेसम्म आफ्ना संरचनाहरू खाली गर्नुपर्ने समयसीमा तोकिएको छ।
विद्यालयले जारी गरेको सूचनामा घोडाघोडी नगरपालिका, वडा नम्बर १ को कार्यालय, इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रहरी कार्यालय सुखड, जिल्ला प्रशासन कार्यालय धनगढी, जिल्ला समन्वय समिति कैलाली, नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय भजनी र विद्युत् कार्यालय पहलमानपुरलाई बोधार्थ समेत लेखेको छ।
आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निर्माण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदानबाट निर्माण गर्ने दुईवटा छात्रावास, चमेनागृह र थेरापी भवन निर्माणका लागि उक्त क्षेत्र विद्यालयले खाली गर्न लागेको हो। यसका लागि विद्यालयलाई सङ्घीय सरकारले ९३ करोडको योजना दिएको छ। जग्गा अभावका कारण योजना कार्यान्वयनमा गएको छैन्।