नित्य कर्म
डिलबहादुर महरा: बिहानै उठी ध्यानले हात हेरी ।
जपौँ कृष्णको रामको मन्त्र फेरि ।।
सधैँ नित्य सम्झौँ पितासाथ माता ।
सलामी चढाऔँ अझै ज्ञान दाता ।।
।१।
तुरुन्तै झुकौँ माथले भूमि ढोगी ।
दुई हात छोएर रत्ती नरोकी ।।
गरौँ शुद्धि सम्पूर्ण धोएर अङ्ग ।
सिकौँ योग व्यायाम होला उमङ्ग ।।
।२।
चढाएर श्री सूर्ययमा पुष्प पानी ।
पुकारौँ सबै देव तेत्तीस जानी ।।
बुझी पूर्ण कर्तव्य छोएर छाती ।
हटाऔँ कुरा तुच्छ बानी नजाती ।।
।३।
लिई चित्तमा देवता जप्न थालौँ ।
बिनाकामका हीनताबोध फालौँ ।।
सबै सम्झिँदै प्राण सारा समान ।
क्षमानिम्ति तैयार होऔँ अजान ।।
।४।
गरी बन्द आँखा पुगौँ जन्म धर्ती ।
पढौँ आत्मभित्रै सुसंस्कार अर्ती ।।
गरेँ कर्म के के कुरा प्रष्ट सोचौँ ।
नयाँ जोसिला मुक्तिका मार्ग रोजौँ ।।
।५।
तुरुन्तै नयाँ जीवनी पढ्नुपर्छ ।
सही कल्पना टाकुरा चढ्नुपर्छ ।।
बुझी कर्म दैनन्दिनी टिप्नुपर्छ ।
नथाकी खुबै साधना गर्नुपर्छ ।।